काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू ‘जेल परे पनि, मरे पनि र बौलाए पनि’ आफ्नो पार्टी अगाडी बढ्ने बताएका छन् ।
उनको पार्टीले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । सरकार छाडेपनि सरकार माथिको समर्थन कायम रहने उनले जानकारी दिए ।
‘म जेल परे पनि, म मरे पनि र म बौलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढ्छ’, मिडियाप्रतिको आक्रोश पोख्दै गर्दा लामिछानेले भने ।
विशेष पत्रकार सम्मेलन आयोजना गरेका उनले ‘स्वार्थको द्वन्द्व’का नाममा आफूलाई मिडिया हाउसहरूले चौतर्फी घेरा हालेको आरोप पनि लगाए ।
मिडियाकै कारण आफू र आफ्नो दल सरकारबाट बाहिरिनु परेको लामिछाने बताए । यद्यपि उनले आफूलाई सरकारमा रहँदा स्वतन्त्र रूपका काम गर्न दिएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका थिए ।