
ढल्केवर, धनुषा
नेपाल बीउ व्यवसायी संघ मधेश प्रदेश समितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार धनुषाको ढल्केवरमा नेपाल बीउ व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षता तथा कृषि विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख डाक्र रत्नकुमार झाको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभाका प्रमुख अतिथि झाले विदेशीभन्दा स्वदेशी उत्पादनका बीउ बिजनलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय गर्नुपर्ने बताए । पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर बन्न नसकेको र आयात गर्दा विविध समस्या झेल्नुपर्नु अवस्थाको अन्तका लागि आफूले सहयोग गर्न तयार रहेको उनले जानकारी दिए ।
झाले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएकाले हामी आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै व्यवसायीको समस्याका बारे संघलाई लिखित पत्रचार गर्न आग्रह गरे । बिउ आयातमा भन्सार सुविधालगायत समस्याको पहल कृषि विकास निर्देशनालयमार्फत गरिने उनले जानकारी दिए ।
साधारणसभामा नेपाल बीउ बिजन व्यवसायी संघ धनुषाका अध्यक्ष राजलाल महतोलगायत आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।