गौशाला : महोत्तरीको मटिहानी नगरपालिकाले बिहिवार (भोली ) पालिकाभरि सार्वजनिक विदा दिएको छ ।
मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा धार्मिक, ऐतिहासिक एवं पौराणिक अन्तर्गत चौथो दिन मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले मटिहानी नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै बिहिवार (भोली ) पालिकाभरि सार्वजनिक विदा दिएको हो । धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ ।
त्यसपछि कल्याणेश्वर हुँदै बुधवार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् । बिहिवार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।