गाैशाला, फाल्गुन १६ गते ।
महोत्तरीकाे औरही नगरपालिका वडा ७ सोनामाई भोइल स्थित श्री सोनामाई आधारभुत बिधालयमा दुई कोठे पक्की भवन र वडा ९ अवलेशरामा रहेको जनता आधारभुत विधालयमा चारकोठे पक्की भवन निर्माण हुने भएको छ । मंगलवार नगरप्रमुख प्रदिप कुमार खड्का र सो दुवै वडाका वडाध्यक्षहरुले संयुक्तरूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
औरहीनगरपालिकाको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/०८० मार्फत विनियोजित लागत अनुमान भ्याट र कन्टीजेन्सी सहित वडा ७ को विधालयमा ३२ लाखमा दुई कोठे पक्की भवन र त्यस्तै लागत अनुमान भ्याट र कन्टीजेन्सी सहित वडा ९ को विधालयमा ८४ लाखमा चार कोठे पक्की भवन निर्माण हुने भएको छ। भवन निर्माण पश्चात दुवै विधालयमा अध्ययनरत बिधार्थीहरूलाई पठनपाठनमा सहयोग पुग्ने औरहीनगर प्रमुख खड्काले बताए ।
नगर प्रमुख खड्काले औरहीनगरको शैक्षिक गुणस्तर र विकासका निम्ति विद्यालयको भौतिक पूर्वाधार निर्माणमा जोड दिएको बताए । उनले भवन अभावले विधालयहरुको शैक्षिक गतिविधिमा समस्या भइरहेकोमा भवन निर्माण पश्चात सो समस्या समाधान हुने बताए ।
शिलान्यास कार्यक्रममा औरही नगरपालिका ७ का वडाध्यक्ष जितेन्द्र यादव र वडा ९ का वडाध्यक्ष रघुनन्दन चौधरी, औरही नगरपालिका शिक्षा शाखा प्रमुख धनबहादुर राई, श्री सोनामाई आधारभुत विधालय भोइल विधालय व्यवस्थापन समिति अध्यक्ष राम प्रवेश यादव, दुवै विधालयका प्रधानाध्यापकहरु, शिक्षकहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।