
आज मलाई खुशी लागेको छ, यसकारण कि प्रदेश नं १ ले नाम पाएको छ ! प्रदेश संरचनाको (सरकारको) प्रथम मुख्यमन्त्रीको रुपमा आफु बहाल रहँदा प्रदेशले नाम नपाएको कारण मैले सबभन्दा बढी दोषको भारी मेरो टाउकोमा परेको थियो र मैले अलिकति पनि नहच्किचाई आफुलाई अपसोच रहेको कुरा खुल्ला रुपमा गर्दै आफ्नो टाउकोमा पर्ने दोष बोक्न अप्ठ्यारो नरहेकाे कुरा भन्दै आएको थिए र साँचो गुह्य कुरा के थियो भन्ने कुरा पनि राख्दै आएको थिए ।
हामीले जुन बेला प्रदेशको राजधानी सर्बसम्मत रुपमा सबै दलहरु बसेर टुंग्याउने निर्णय माइन्युटली प्रदेश सभा बाहिर गर्दै गर्दा नामाकंन पनि टुंग्याऊ भन्ने हाम्रो प्रस्ताव थियो तर सबै दलहरु नामांकनको बिषय अलि संबेदनशील र जटिल भएको र आ-आफ्नो दलभित्र केही समय छलफल र परामर्श आवश्यक रहेको कुरा औपचारिक बैठकमै ब्यक्त भएपश्चात सर्बसम्मत रुपमा स्थगन गर्ने निर्णय भएको थियो । जसपश्चात नामांकनको बिषयमा औपचारिक वा अनौपचारिक रुपमा छलफलहरु नभएको होइन तर कोभिड-१९ को महामारी र राजनितीमा देखा परेको अनपेक्षित घटनाक्रमहरुका कारण त्यत्तिबेला नामांकनले प्रबेश पाएन, सरकारहरु परिवर्तन भए, हामीले त्यतिबेला बर्तमान मुख्यमन्त्रीको नेतृत्वमा कार्यदल बनाएर प्रदेशको नाम राख्न पहल गर्न खोज्यौ तर चाहेर पनि प्रदेशले नाम पाएन ।
पहिलो प्रदेशसभा थियो, तातो थियो, भावना र संबेदनाहरुको बेग पनि रोकिनसक्नु थियो, भन्न सजिलो थियो तर निकै गाह्रो थियो, मैले हामी सबैले चाहेर पनि त्यो तातो अवस्थामा अगाडी बढ्ने वातावरण थिएन त्यसैले पहिलो प्रदेश सभा चुक्यो, हामी चुक्यौं ।
तर दोश्रो प्रतिनिधीसभा र प्रदेशसभाको निर्बाचन पश्चातको बिकसित राजनितीक घटनाक्रमहरु, अनि चिसिदै र गल्दै गएको भिन्न परिस्थिती र वातावरणमा सहज ढंगले प्रमुख दुई दलको सहमति र तातो पानीले नुहाउने जिद्वि गर्दै आएको अर्को तेश्रो ठुलो दल समेत चिसै पानीले नुहाउने भन्दै मुल प्रस्तावको पक्षमा मतदान गर्ने ठाउँमा आएर आज सहज एबं शान्त रुपमा प्रदेशले नाम पाएको छ, यो सकारात्मक र सुखद कुरा हो ।
सर्बप्रथम मुख्यमन्त्री माननीय हिक्मत कार्की जो पहिलो प्रदेश सभाको सक्रिय माननीय सदस्य, मेरो नेतृत्वको प्रदेश सरकारको दोश्रो बरियाताका बरिष्ठ मन्त्री जस्ले नामांकनको बिषयलाई प्राथमिक कार्यसुचीमा राखेर सहजीकरण गर्नुभयो र आज प्रदेशले नाम पाएको छ, म माननीय मुख्यमन्त्री हिक्मत कार्कीलाई धेरै धेरै बधाई सहित धन्यबाद भन्न चाहन्छु, संगसंगै नेपाली काँग्रेस जस्ले असाध्यै जिम्मेवार भुमिका अदा गर्दै प्रदेशलाई नाम दिने कुरामा महत्वपुर्ण साथ सहित योगदान गरेको छ, (नेकाँ तयार नभएको भए संभव थिएन) म बिशेष धन्यबाद सहित बधाई दिन चाहन्छु, अनि जे सुकै कारण देखाउदै भएपनि चिसै पानीले नुहाउछु भन्दै प्रदेशलाई नाम दिने पक्षमा मतदान गर्ने नेकपा (माके) लाई पनि धन्यबाद छ, अनि फरक प्रस्ताव दर्ज गर्ने दल र मनानीय सदस्यहरुलाई पनि सम्मान छ ।
मुख्य कुरा प्रदेशले नाम पाएको छ, यो एउटा ऐतिहासिक र खुसीको कुरा हो, मत बिमतको कुरा आ-आफ्नो ठाउँमा छ, यो निरन्तर चलिरहन्छ, अन्तमा माननीय मुख्यमन्त्री, प्रदेश सरकार, प्रदेशसभाका सबै दल, माननीय सभामुख, उपसभामुख र संबैधानिक अधिकारको प्रयोग गर्दै ऐतिहासिक निर्णयमा सहभागी हुनुहुने सबै माननीय सदस्य लगायत कर्मचारी वर्ग, संचारकर्मी लगायत सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।