रवीन्द्र उप्रेती
बर्दिबास, फागुन २० गते ।
महोत्तरी जिल्लाको सुदूर उत्तरी भेगमा वन्यजन्तुको आक्रमण बढेपछि मानव बस्ती तथा चौपाया जोखिममा परेका छन् । बर्दिबास–३ र ४ स्थित चुरेआसपासका क्षेत्रमा बाघ, चितुवा र हात्तीको आक्रमण बढेको छ। स्थानीयका अनुसार यी भेगमा हिंस्रक वन्यजन्तुको आवागमन बढेपछि खेतिपाती र मेलापात जोखिमपूर्ण भएको छ। पछिल्लो समय बाघ चितुवाले चौपाया मार्न थालेपछि चुरे भेगको बस्तीमा त्रास बढेको हो ।
यसै साता चरिचरनमा गएको एउटा माउ भैँसी बाघको आक्रमणमा परेर मरेपछि यस क्षेत्रको दैनिकी फेरिएको छ। स्थानीयका अनुसार यसै हप्ता बाघले बर्दिबास–४, वरडाँडाका लालबहादुर गोलेको भैँसी मारेको हो। आमा सुभद्रा गाई, भैँसी र बाख्राको बथान लिएर लक्ष्मी खोलाको तीन झोरामा चराउन जानुभएको थियो। त्यस दिन गाईबस्तु खोलाको भीरमा पुगेर चरेका थिए।
साँझ सबै बस्तु फर्के पनि एउटा माउ भैँसी भने देखिएन। भोलीपल्ट गाउँले मिली खोजी गर्दा लक्ष्मी खोलामा बाघले मारेको अवस्थामा फेला परेको गोलेले बताउनुभयो। उहाँले भन्नुभयो, “भैँसीको घाँटीमा टोकेर रगत चुसेको, अनुहार चिथोरिएको र पछिल्लो भाग खाएको अवस्थामा फेला परेको थियो। भैँसी ढलेको आसपासमा देखापरेका पाइलाको डामको आधारमा ठूलै बाघले मारेको अनुमान गरिएको हो।”
घटनास्थल बर्दिबासदेखि करिब १० किमि सुदुर उत्तरी क्षेत्रको चुरे भेगमा छ। यस भेगमा बाघ पसेको खबरले स्थानीय बासिन्दा एक्लै हिँडडुल गर्न र मेलापात जान छाडेका छन्। यो घटनापछि गाउँ बस्तीमा हिँडडुल गर्न पनि डरमर्दो भएको गोलेको भनाइ छ।
यसअघि एकबहादुर जिम्बाको आठवटा बाख्राको पाठा पनि चितुवाले मारेको थियो। बाघ, चितुवाबाहेक पनि बेलाबेला यी भेगमा जङ्गली हात्तीले पनि दुःख दिने गरेका छन्। यसअघि बस्ती छिरेका चारवटा हात्तीको बथानले चेरु खोला आसपासका बालीनालीमा क्षति पु-याउनुका साथै भक्तिपुर बस्तीमा प्रवेश गरी पाडो मारेका थिए।
उत्तरी भेगका यी क्षेत्रसमेत बर्दिबास–३ को राई मण्डल बस्ती पनि उत्तिकै जोखिममा छ। बस्तीको उत्तरी भेगमा रहेको राई मण्डल डाँडा, भीम डाँडा र सोली घोप्टे डाँडा क्षेत्रमा रहेका अनेकन खोल्साखोल्सी, झोरा र ओडार हिंस्रक वन्यजन्तुका सुरक्षित वासस्थल भएको स्थानीयको भनाइ छ। राई मण्डल डाँडाको फेदीमा बसोबास गर्ने कर्णबहादुर पुलामीका अनुसार भवसी खोलामा चर्न गएका उहाँका दुई बाख्रा र आठ/आठ धार्नीका दुईवटा खसी चितुवाले ढालेको थियो। त्यसअघि उहाँको छिमेकी छत्रमायाको खसीसमेत लगेको थियो ।
त्यसअघि चर्न गएको उहाँका काका र छिमेकी गाउदासे आलेको पनि एक/एक थान गाई र बाच्छो बाघले मारेको थियो । बाघ र चितुवाले बस्तुभाउ मात्र मार्दैनन् बस्तीमा त्रास र जोखिमसमेत थप्ने गरेको गाउँलेको अनुभव छ ।
वन्यजन्तुको आक्रमणबाट उत्तरी भेग मात्र नभएर जिल्लाको दक्षिणी भेगका बासिन्दासमेत आक्रान्त छन्। बस्ती पसेका बँदेल, नीलगाई, हरिणजस्ता वन्यजन्तुको आक्रमणबाट मान्छेको मृत्यु, अङ्गभङ्ग र बालीनालीमा क्षतिजस्ता घटना सामान्य हुन थालेका छन्। वन्यजन्तुको बढ्दो चहलपहलले पूर्वपश्चिम राजमार्गको यात्रा पनि जोखिमपूर्ण बनेको छ । राजमार्गको जङ्गली क्षेत्रमा जनावरसँग ठोकिएर दुर्घटनासमेत बढेको छ। यस्ता दुर्घटनामा परी कतिपयले ज्यानसमेत गुमाएको प्रहरीले जनाएको छ । स्रोत : गोरखापत्र अनलाइन