गौशालाः महोत्तरीको गौशालामा कृषि उपज केन्द्रकाे भवन बनाउने कार्य अगाडि बढाएको छ । गौशाला नगरपालिकाले वडा नम्बर ५ अन्तर्गत कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्रकाे भवन बनाउने कार्य अगाडि बढाएको हाे ।
नगरपालिकाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफूल संकलन गरी बिक्री गर्ने व्यवस्थापनका लागि गौशालामा संकलन केन्द्रकाे भवन बनाउने कार्य योजना अगाडि बढाएका छन् । कृषि उपज उत्पादन हुने तर बिक्री नहुने समस्या समाधान गर्न नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्न लागेकाे नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदानमार्फत सो उपज केन्द्र स्थापना हुन लागेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । ७ करोड ८१ लाख ३४ हजार ३ सय ७६ रुपैयाँको लगानीमा सो पुर्वाधार निर्माण हुन लागेको गौशालाका मेयर डा. दिपेन्द्र महतोले जानकारी दिए ।
कृषि उपज केन्द्र निर्माणका निम्ति सान्दोर्जे निर्माण सेवा काठमान्डौलाई ठेक्का दिइएको र पूर्वाधार निर्माण भएपछि यहाँका किसानहरु सहज रुपमा कारोवार गर्न सकिने मेयर महतोले बताए । कृषि उपज केन्द्रको निर्माण अवधि १८ महिना रहेको उनले बताए ।