लक्ष्मण यादव
सर्लाही, चैत ६ गते ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ स्थित निर्माणाधीन बरहथवा अस्पतालको भवन अधुरै रहेको छ ।
निर्माण शुरु गरेको एक वर्ष आठ महिना बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको सर्लाहीको बरहथवामा निर्माणाधीन बरहथवा अस्पतालको भवन पछिल्लो समय जीर्ण बन्दै गइरहेको छ ।
विसं २०७८ असार १५ मा बरहथवा नगरपालिकासँग न्यू ड्रेगन निर्माण सेवाले रु १६ करोड ३५ लाखमा ठेक्का सम्झौता गरेको उक्त भवन एक वर्ष ८ महिना बितिसक्दा पनि निर्माण पूरा नहुँदा अलपत्र बन्न पुगेको हो ।
विसं २०७९ चैत्र ३० भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।
अस्पतालको भवन निर्माण योजनाका काम करिब ७० देखि ७५ प्रतिशत मात्रै सकिएको अस्पताल विकास समितिले जनाएको छ । उक्त अस्पताल भवन निर्माणको काम गुणस्तरहीन भइरहेको भन्दै स्थानीयले डेढ महिना पहिले निर्माणको काम बन्द गराएका थिए ।
।
निर्माणको काम बन्द भएपछि बरहथवा नगरपालिकाका उपमेयको संयोजकत्वमा पाँच सदस्यीय अस्पताल निर्माण छानबिन समिति गठन भएको थियो । छानबिन समितिकाअनुसार नगरपालिकाले ठेकेदार कम्पनीलाई एकचालीस लाख रुपैयाँ बढी रकम भुक्तानी गरेको छ ।
यता निर्माण सेवाका इन्जिनियर उत्तम सुवेदीकाअनुसार कार्य सम्पन्नको मूल्यांकन नै भएको छैन । ‘मैले कसरी बढी रकम लिएँ, कार्य सम्पन्नको मूल्यांकन भएपछि यदि मैले बढी रकम लिएको देखियो भने म उक्त रकम फिर्ता गर्न तयार छु’ उनले भने ।
सहमतिको लागि शुक्रबार बरहथवा नगरपालिकाको सभाहलमा बसेको बैठकमा छानबिन समितिले अस्पताल भवन निर्माणको काममा पालिकाका इन्जिनियर दिपक लामाले ठेकेदार कम्पनीलाई बढी भुक्तानी दिएको दाबी गरे । इन्जिनियर लामाले आफुले गरेको गल्ती स्विकार्दै जुनसुकै सजाय भोग्न तयार छु भनेपनी सहमति जुट्न सकेन । बैठक अनिश्चितकलको लागि सारिएको छानबिन समितिले जनाए ।
नयाँ भवनको निर्माण सम्पन्न नहुँदा अस्पतालले अस्थायी संरचनाबाटै सेवा दिँदै आएको छ । अस्पतालमा सर्लाहीको बरहथवा नगरपालिका, बागमती नगरपालिका र बसबरिया गाउँपालिका क्षेत्रलगायत गरी वार्षिक ५० हजारभन्दा बढीले सेवा लिने गरेका बताइएको छ ।