काठमाडौँ, चैत्र ७ गते ।
नेकपा (माओवादी) केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ । जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्नुभएको छ ।
पेरिसडाँडामा आयोजित उद्घाटन सत्रमा बोल्दै उहाँले भन्नुभयो, “आजको दुनियाँमा विचारको शक्ति नै सबैभन्दा महत्वपूर्ण शक्ति हो । तथ्य, सच्चाइ र तर्कको बलमा कम्युनिस्ट आन्दोलनको पक्षमा, कार्यदिशाको पक्षमा, जनताको मुक्ति र परिवर्तनको पक्षमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ । पाँच दिनसम्म चल्ने पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।”
पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिस्टहरूको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, राष्ट्रियताको सवाल लगायतका विषयहरू समाविष्ट छन् ।
स्कुलमा पार्टीका भूगोल जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरू उपस्थित हुनेछन् । स्कुललाई पार्टी नेता एवं विषयविज्ञहरूले सहजीकरण गर्नेछन् ।