गौशाला, चैत ११ गते ।
महाेत्तरीकाे गौशालामा निर्मित बहुउद्देशीय सामुदायिक भवन हस्तान्तरणको सम्बन्धमा गौशाला उद्योग वाणिज्य संघका प्रतिनिधीहरु नै बेखर भएका छन् । शनिबार आफ्नै संस्थालाई कभर्ड हल हस्तान्तरण गर्न लागेको सम्बन्धमा गौशाला उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई कुनै किसिमको औपचारिक जानकारी नै नभएको पाईएको छ ।
निमार्णाधिन वहुउद्देशीय सामुदायिक भवन
संस्थालाई कभर्ड हल हस्तान्तरण सम्बन्धमा आफुलाई कुनै किसिमको जानकारी नभएको संघका सचिव रमेश कुमार यादवले बताए । उनले भने, ‘आफु सचिव भएपनि भवन हस्तान्तरणको सम्बन्धमा औपचारिक रुपमा जानकारी छैन् । वजारमा चौतर्फी हल्ला छ । यसवीचमा संस्थाका पदाधिकारीवीच कुनै किसिमको सरसल्लाह भएकै छैन् । अध्यक्षज्युले मनोमानी ढंगले यो कार्य गर्न आटेको हो । एक बर्षभित्रमा कुनै किसिमको वैठक बस्न सकेको छैन् ।’
गौशाला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य लालबाबु साहका अनुसार उद्योग वाणिज्य संघ कागजी रुपमा अवैधानिक भईसकेको छ । उनले भने, ‘२ बर्षको कार्यकाल असहमतिकै भरमा ४ बर्ष वित्न लाग्यो । यसविचमा न त सधारणसभाको कुनै प्रयास भयो । न त एक बर्षदेखि कुनै किसिमको वैठक नै वस्यो । संस्थाले गत दुई बर्षदेखि सधारणसभा गर्न नसकेको छैन भने पदाधिकारीको म्याद पनि २ बर्ष अगाडि नै गुज्रिसकेको छ ।’
कार्यक्रम सम्पन्न गर्न चन्दा असुली
गौशाला उद्योग वाणिज्य संघलाई कभर्ड हल हस्तान्तरणका लागि एक भव्य कार्यक्रमको आयोजना गरिदैछ । दिउँसो १ बजे औपचारिक रुपमा आयोजना हुने सो कार्यक्रमलाई सफल बनाउनका लागि गौशाला उद्योग वाणिज्य संघका पदाधिकारीहरु वजारमा चन्दा संकलनमा व्यस्त रहेको पाईएको छ ।
उद्योग वाणिज्य संघका पदाधिकारीहरुले विना कुनै रसिद काटि पैसा उठाउँदै आएको स्थानिय व्यापारी सतिश साहले बताए । व्यापारी साहले भने, ‘आफुले ५ सय रुपैयाँ दिदा संघका प्रतिनिधीले ठाँडै अस्वीकार गरेका थिए । उनीहरु एक हजारभन्दा माथि रकमका दरले विना रसिदकै रकम असुल्दै आएको छ ।’
संस्थाले खर्चको वन्दोवस्तका लागि संघको पदाधिकारीको वैठकवाट अनुमोदन गर्नुपर्नेमा गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजाराम गिरीले बताए । उनले भने, ‘संस्थाले आपसी रुपमा वैठक बसेर यस्ता औपचारिक कार्यक्रमको आयोजना गर्नुपर्छ । यसरी मनोमानी ढंगले कार्यक्रम गर्दा पछाडि अप्ठयारो पर्न सक्छ ।
नगरपालिका कानुनी उपचार खोजिनेछ : मेयर डा. महतो
गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले अव नगरपालिकाको कार्यालय संस्था आफनो मातहतमा ल्याउनका लागि कानुनी रुपमा उपचार खोजिने जानकारी दिएका छन् ।
उनले भने, ‘कभर्ड हल पूर्ण रुपमा निर्माण भएको औपचारिक खबर नगरपालिकालाई कुनै किसिमको जानकारी छैन् । विना सोधपुछ गरि हस्तान्तरण गरिनु नगरपालिकाको कार्यालयलाई कुनै हालतमा मान्य हुदैन् । गुठीको जग्गा ३० बर्षे लिजमा लिएर नगरपालिकाले सो भवन निर्माणका लागि अनुमति दिएका थिए । तर नगरपालिकालाई नसोधिकन प्रदेश सभा सदस्यज्युले एकाएक किन गौशाला उद्योग वाणिज्य संघजस्ता गैरसरकारीसंस्थालाई हस्तान्तरण गरिन खोजिनु भएको हो यस विषयमा आफु अनविज्ञ छु ।’
करिब पौने ३ करोडको लागतमा निर्मित अत्याधुनिक पूर्वाधार सहितको कभर्ड हल शनिवार एक समारोहकाबीच हस्तान्तरण गर्न लागिएको हो ।
वि.सं. २०७७ साल ज्येष्ठ २१ गतेका दिन शिलान्यास भएको सो वहुउद्देशीय सामुदायिक भवन गौशाला उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिने भएको छ । संस्था निर्माणका लागि गौशाला नगरपालिकाले गुठीसँग लिजमा ३० बर्षका लागि लिएका थिए । त्यसपछि सो जग्गामा महोत्तरी क्षेत्र नं. १(ख) का प्रदेशसभा सदस्य भरतप्रसाद साहले सो भवन संसदीय विकास कोषको रकमबाट निर्माण गरिएको हो ।