शेरबहादुर ऐर
धनगढी : कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा बाहेक सबै सेवा चार दिनदेखि बन्द छ। स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्र्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलित भएका हुन्।
विगत छ महिनादेखि तलब भत्ता नपाएको भन्दै धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिर गर्ने र नगरपालिकाको प्रांगणमा कालोपट्टि बाँधेर धर्ना दिने दबाबमुलक कार्यक्रम अघि बढाएका छन्।
माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रम धनगढीका स्वास्थ्यकर्मीहरुले अघि बढाउने घोषणा गरेका छन्।
धनगढी उपमहानगर र जोशीपुर गाउँपालिकामात्र नभई कैलालीको टीकापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले एक महिनादेखि, भजनी र गौरिगंगा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पुसमहिनादेखि तथा कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले माघदेखिको तलबभत्ता पाउन सकेका छैनन्।
भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले भने –‘तलब भत्ताका लागि केन्द्रसम्म धाईरहेका छौं तर, अहिलेसम्म कर्मचारीहरुको माग सम्बोधन हुन सकेको छैन्।’ उनले तलबभत्ता पाउनुपर्ने भन्दै दबाबमुलक कार्यक्रम भने अघि बढाउने तयारी नरहेको बताए ।
जिल्लाको जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा कार्यरत कर्मचारीहरुले फागुनसम्मको सेवासुविधा प्राप्त गरे पनि अबको तीन महिनामा पाउनुपर्ने सेवासुविधाको बजेट अपुग रहेको जनाएको छ। लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकामा अहिले स्वास्थ्यकर्मीहरुको तलबभत्ता नियमित भएपनि यस महिनादेखि रोकिने सम्भावना रहेको छ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले दरबन्दीभन्दा बढी कर्मचारी रहेका कारण तलबभत्ता दिन समस्या भएको बताउँछन्। ‘स्वास्थ्य सेवाका कर्मचारीले असोजदेखि मासिक तलबभत्ता पाएका छैनन्। हामीलाई संघीय सरकारको सशर्त अनुदानबाट तलब प्राप्त हुन्छ’, उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या ५४ पुगेको छ।’
सम्बन्धित निकायमा पटक–पटक मौखिक र लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको र माग प्रति सम्वन्धित निकायले वेवास्ता गरेका कारण आन्दोलनका कार्यक्रम अघि बढाउनुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
जोशीपुरमा आक्समिक सेवाबाहेक अन्य सेवा बन्द हुँदा स्वास्थ्य केन्द्रमा पुगेका विरामीहरु अन्यत्र जानुपर्ने बाँध्यता रहेको छ। सेवानै प्रभावित पार्ने नियत नभएपनि तलब भत्ता नपाउँदा समस्या भएकाले आन्दोलनका कार्यक्रम अघि बढाउनुपरेको कर्मचारीहरु बताउँछन्।
स्वास्थ्य क्षेत्रको समस्यालाई यथासिघ्र व्यवस्थापनका लागि संघिय सरकारलाई दबाब दिईरहेको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले बताए।
चार स्थानीय तहमा तलबभत्ता नियमित
जिल्लाका चार वटा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलबभत्ता नियमित भईरहेको जनाइएको छ। कैलालीको गोदावरी नगरपालिका, मोहन्याल, बर्दगोरिया र चुरे गाउँपालिकामा कार्यरत स्थायी स्वास्थ्यकर्मीहरुलाई सेवासुविधा नियमित रहेको जनाइएको छ। चुरे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले दरबन्दी अनुसार गाउँपालिकामा स्थायी कर्मचारी नहुँदा नियमित तलबभत्ता दिन समस्या नभएको बताए।