
सर्लाही, चैत १४ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विधुतीकरण मार्फत सिँचाइका लागि प्रयोग हुने विधुत महसुल तिर्ने भएको छ । २०७९ पुस २९ गते सम्पन्न १२ औँ गाउँसभाकाे बैंठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने भएकाे हाे ।
किसानको खेतमा जडान भएको कृषि विधुत मिटरमा उठेको महसुल एकमुष्ट रूपमा नेपाल विधुत प्राधिकरण भुक्तानी गरिने पालिका अध्यक्ष राजकुमार महतोले बताए । ‘किसानकाे खेतमा जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँपालिकाको कार्यालयमा बुझाएपछि सोही अनुसार एकमुष्ट रूपमा विधुत प्राधिकरणलाई भुक्तानी गरिनेछ’, उनले ऊर्जा खबरसँग भने, ‘यसले किसानको आर्थिक अवस्था सुधार हुनेछ, साथै कृषि क्षेत्रकाे विकामा टेवा पुग्नेछ ।’
आव २०७९/८० को कृषि विधुतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको पनि महतोले बताए । ‘५ वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने योजना छ, पूर्ण विधुतीकरण पश्चात वार्षिक करिब २५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ’ उनले भने ।
अहिले पालिका अन्तर्गतनै कृषि मिटर वितरण भइरहेको छ । प्राधिकरण मलंगवा वितरण केन्द्र नगइकन नै गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएको महतोले जनाएको छ । केन्द्रका १४ जनाको टोली आएर पालिकाबाटनै कृषि मिटर वितरण गरिरहेका छन ।
विधुत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ । पालिकाले एक महिना मिटर फारम अभियानै सञ्चालन गरेको थियो । सो अवधिमा ५०० बढीले आवेदन दिएको पालिकाले जनाएको छ ।
‘विधुत मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो, गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरू हर्षित भएका छन’ उनले थपे ।
कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने, मिटरको लागत कायम गर्ने, मिटर जडान गर्नेलगायत सबै चरणको काम गाउँपालिकामा भइसकेको हुदाँ केन्द्रले किसान मिटर वितरण गरी खेतमै पुगेर जडान गर्ने यादवले बताए ।
३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन । कृषि विधुतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको महतोले बताए ।
स्रोत : उर्जा खबर