काठमाडौं, चैत २३ गते ।
मोडलिङसँगै राजनीतिमा पाइला चालेकी अनिता यादव ‘मिसेज द नेशन २०२३’को ब्राण्ड एम्बेस्डर भएकी छिन् । २०१८ मा भएको मिस नेपालमा सकेण्ड रनर अपको उपाधि पाएकी उनी मोडलिङसँगै राजनीतिमा पनि सक्रिय छिन् । सर्लाहीको मदनपुर विद्यालयबाट एसएलसी उत्तीर्ण अनिताले धनुषाको सरस्वती महिला कलेजबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । सामाजिक तथा राजनीतिबाट मधेशी महिलाका लागि केही गर्ने उनको योजना छ ।
मधेशका छोरीलाई पनि छोरा सरह शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ । हाल संघीय राजधानी काठमाडौंमा रहेकी अनिता समाजिक, राजनीतिक एवं अन्य कार्यमा सधैं आफूलाई सक्रिय राख्ने बताउँछिन् । ज्वाइँले छोरी पाल्ने भन्दा पनि छोरीले पनि ज्वाइँ पाल्ने सन्देश दिन समाजमा आवश्यक रहेको भन्दै उनले आफूलाई श्रीमानबाट होइन, आफूबाट पनि श्रीमानलाई परिचित गराउन सक्नुपर्ने हैसियत बनाउनुपर्ने धारणा राख्ने अनिता यादवसँग मध्यान्हका लागि राजेन्द्र महतोले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले राजधानी काठमाडौंमा रहेर समाजिक, राजनीतिक एवं अन्य कार्यहरुमा सक्रिय रहेको छु ।
समाजमा महिला हिंसाका घटनाहरु बढ्दो छ, यस्ता घटनाहरु कसरी न्यूनीकरण गर्न सकिन्छ ?
महिलामाथि हुने सबैखाले हिंसा न्यूनीकरण गर्न विशेषतः घर, परिवार र समुदायमा व्याप्त परम्परागत अन्धविश्वास जरैदेखि उन्मूलन गर्न आवश्यक छ ।छोरीलाई भेदभाव नगरी राम्रो शिक्षा दिन सकियो भने भोलिका दिनमा हाम्रो समाजमा भइरहेको विभिन्न समाजिक घटना आफैं न्यूनीकरण हुँदै जान्छन् र महिला हिंसा, हत्या, आत्महत्या, महिलामाथि शोषण, दाईजो प्रथाजस्ता घटना समाजबाट अन्त्य हुनेछ ।
मधेशमा छोरीलाई पनि छोरालाईजस्तै शिक्षा दिनका लागि कसरी हौसला दिन सकिन्छ ?
मधेशमा पहिलेदेखिकै समस्या भनेकै छोरीलाई छोरा समान नमान्नु हो । छोरीलाई पनि छोरासरह शिक्षा दिन अभिभावकको चेतनास्तर सुध्रिन जरुरी छ । विभिन्न प्रतियोगिता तथा कार्यक्रममा खुलारूपमा छोरीलाई पनि भाग लिन हौसला दिनुपर्छ । जसले गर्दा उनीहरु दक्ष हुन सक्छन् र कसैको भरमा बस्नुपर्दैन ।
मधेशमा विशेषगरी छोरीमाथि भेदभाव गरिन्छ, यसको अन्त्य गर्न कस्तो उपाय अपनाउन सकिन्छ ?
मधेशमा विशेषगरी छोरीमाथि गरिने भेदभाव सबैभन्दा पहिला आमाबुबाबाट अन्त्य हुन जरुरी देखिन्छ, त्यसपछि समाज आफैं परिवर्तन हुँदै जान्छ । आज मलाई मेरो आमाबुबाले शिक्षा हासिल गर्न नदिएको भए यहाँसम्म सायद आउने थिइनँ ।
स्वास्थयको दृस्ठिकोणले मदेशी महिलाहरुको विभिन्न रोगका कारण आल्पायुमै मृत्यु हुने गरेको छ । यसबारे के भन्नुहुन्छ ?
सबैलाई थाहा छ, महिला स्वास्थ्य गम्भीर विषय हो । तर चेतना र आर्थिक अभावमा उनीहरू विभिन्न खाले रोग पाल्न बाध्य भएका छ्न् ।
समाजमा महिलाहरु लैंगिक हिंसा तथा दुर्व्यवहारबाट बढी नै पीडित छन्, यसबारे तपाईंको धारणा के छ ?
अहिले पनि हाम्रो घर, परिवार, समाजमा घरेलु हिंसा, बोक्सीको आरोप, निरक्षरता, बेरोजगारी, श्रम शोषण र बालविवाहजस्ता समस्या कायमै छन् । महिला भएकै कारण भोग्नुपर्ने भेदभाव र शोषण ज्यूँकात्यूँ छन् । त्यसमा पनि मधेशी महिला अशिक्षा र चेतना अभावका कारण लैंगिक हिँसामा पर्ने गरेका छन् । तसर्थ महिलामाथिको विभेद अन्त्य गर्नु सरकारका साथै हामी सबैको दायित्व हो ।