राैतहट, बैशाख ३ गते ।
रौतहटको गढीमाई नगरपालिकाको धोविनियाँ गाउँमा सडक विस्तार गर्ने विषयलाई लिएर शनिबार गोली चल्दा एक जनाको मृत्यु भएपछि प्रहरीले अनुसन्धानको क्रममा १६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गढीमाई नगरपालिका वडा नम्वर ८ धोविनियाँ गाउँमा हिजो दिउँसो रामइश्वर राय यादव र राजकुमार राय यादव पक्ष बिच सडक विस्तारको कुरालाई लिएर विवाद हुँदा रामइश्वर पक्षले अन्धाधुन्ध गोली प्रहार गर्दा ५० बर्षिय राजकुमार यादवको मृत्यु भएका थिए भने ४ जना घाईते भएको थियो ।
घटना पश्चात उक्त गाउँमा व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेर गोली चलाउने व्यक्तिहरुको खोजी तलासीको क्रममा १६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए । प्रहरीले खानतलासीको क्रममा १२ बोरको दुईनाले बन्दुक एक थान बरामद गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका १६ जनालाई हिरासतमा लिए अनुसन्धान कार्य भईरहेको तथा उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादव सहित ४ जना घाइतेहरुको उपचार गरुडा स्थित ग्रान्डि अस्पतालमा उपचार भईरहेको उनले बताए ।
मृतक यादवको शव नारायणी अस्पतालमा पोष्टमार्टम भईरहेको भएपनि दोषिलाई नसमाते सम्म परिवारले शव बुझ्न मानेको छैनन । उनको शव नारायणी अस्पतालमै राखिएको छ ।
धोबिनिया गाउँको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडिकरण गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि संलग्न अधिकांश व्यक्तिहरु अहिले गाउँ छोडेको बताइएको छ । धोविनियाँ गाउँमा डरत्रासको माहौंल छाएको छ ।