जनकपुरधाम, बैशाख ५ गते ।
महोत्तरीको बलवा नगरपालिकाका उपमेयर रामदुलारी देवी ठाकुरले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि बोतल प्रहार गरेको आरोप लगाइएको छ ।
आफ्नो कार्यकक्षमा आसमान नेपालका कर्मचारीहरुसँग मिटिङ्ग गरिरहेका बेला उपमेयर ठाकुरले प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि पानीको बोतल प्रहार गरेको आरोप लगाइएको हो ।
बलवा नगरपालिका वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधि रोकेको भन्दै उपमेयर ठाकुरले प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि कार्यकक्षमै बोतल प्रहार गरेको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरले उपमेयरकै योजनाअन्तर्गत रहेको सो सडक २५ लाखको लागतमा निर्माण भइरहेको अवस्थामा स्थानीयले ९ फिट मात्र नभई १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित जानकारी दिँदा आफूले काम रोक्न लगाएको बताए ।
उनले स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई इस्यू बनाएर उपमेयरले आफूसँग दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
यता, उपमेयर ठाकुरले भने आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरेकी छन् ।
उनले भनिन्, ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई ३ पटक उनको कार्यकक्षमा पठाएँ । तरपनि वहाँ आउनु भएन । मैले पटक पटक फोन गर्दा फोन उठाउनु भएन । अनि पछि म आफैं वहाँको कार्यकक्षको गेटमा पुगेर वहाँलाई कृपया यहाँ आउनुस् मलाई तपाईंसँग कुरा गर्नुछ भन्दा वहाँले उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाँहदिन भनेर मेरो अपमान गर्नुभयो ।’
उपमेयर ठाकुरले सोही क्रममा सामान्य भनाभन हुँदा प्रमुख प्रशासकीय अधिकृत ठाकुरले आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको सुनाइन् । उनले सोही क्रममा स्वयंलाई बचाउन आफूले त्यहाँ नजिकै रहेको पानीको बोतल उठाएको बताइन् । तर, आफूले सो बोतल प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार भने नगरेको उनको दाबी छ ।
उपमेयर ठाकुरले भनिन्, ‘नगरपालिकामा कुनैपनि काम हुँदा मलाई बायकट गर्दै मेयर र हाकिम मिलेर मात्र सबै काम गर्छन । अनुगमन समितिको अधिकार मसँग हुँदाहुँदै उनीहरुले मेरो अधिकारको हनन गर्दै मलाई जानकारी नै नदिई अनुगमनसमेत गर्छन । मेयर र हाकिम मिलेर अनुगमन बिना नै भुक्तानी पनि दिन्छन् ।’
आफूले न्यायीक समितिको व्यवस्थापनका लागि कार्यविधि बनाएर हाकिमलाई तिनपटक बुझाएपनि विगत ११ महिनादेखि कसैले कुनै समन्वय नगरेको उपमेयर ठाकुरको गुनासो छ ।
उपमेयर ठाकुरले नगरप्रमुख रामविजय महतो र प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुर मिलेर कार्यालयमा बितण्डा मचाएको आरोपसमेत लगाएकी छन् ।
उनले प्रश्न गर्दै भनिन्, ‘यस पालिकामा मेयरको काम मात्रै हुने तर मेरो काम नहुने ? के म निर्वाचित जनप्रतिनिधि होइन ?’
उनले मेयर महतोले आफ्नो कामहरु रोक्का गर्न लगाएको आरोप लगाउँदै यस विषयमा गुनासो गर्दा मेयरले मैले तपाईंको कामहरु रोक्का गरेको छु जे मन लाग्छ गर्नुस् भन्दै उल्टै थर्काउँदै आएको सुनाइन् । उनले मेयर, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु पनि दिउँसो २ बजे मात्र कार्यालय आउने गरेको आरोपसमेत लगाएकी छन् ।
यस सम्बन्धमा नगरप्रमुख रामविजय महतोले उपप्रमुखले पटक पटक नगरपालिकामा विवाद मात्र गर्दै आएको आरोप लगाए । उनले उपप्रमुख ठाकुरको काम नै आफूमाथि आरोप लगाउनुबाहेक अन्य केही नभएकोसमेत बताए ।
उनले भने, ‘अहिले हामीसँग प्रशासनीक भवनको अभाव छ । हामी सबै कुरा मिलाउनमा लागेका छौं । भवनको अभावमा कर्मचारीलाई पनि काम गर्न समस्या भइरहेको छ । तर, बिच बिचमा उपप्रमुखले सामान्य कुरालाई पनि इस्यू बनाएर बितण्डा मताउँदै आएकी छन् । उनको कार्यशैलीबाट धेरै दुःखी छु ।’
न्यायीक समिति र अनुगमनको सवालमा आफूले उपप्रमुखलाई कुनै बाधा अवरोध नगरेको उनको दाबी छ । अन्य व्यवस्थापनको काम चाँडै टुंगिने नगरप्रमुख महतोले विश्वास व्यक्त गरेका छन् ।