भारतीय स्कारपियोले ठक्कर दिँदा सडकबाट खेतमा बज्जारिएर ढलेका ट्राफिक जवान ।
हरिपुर : सर्लाहीको हरिपुरमा सोमबार अपरान्ह भारतीय नम्वर प्लेटको स्कारपियोले ठक्कर दिँदा एक जना ट्राफिक प्रहरी जवानको खुट्टा भाँचिएको छ ।
हरिपुर नगरपालिका–८, जगतपुरस्थित नवलपुर–मलंगवा सडक खण्डमा सवारी चेकजाँच गर्न बस्नुभएका बाराको प्रसौनी गाउँपालिका–५, घरभई ट्राफिक प्रहरी पोष्ट हरिपुरमा कार्यरत जवान २८ वर्षीय शैलेन्द्र साह घाइते भएका हुन् । उनलाई नवलपुरबाट मलंगवातर्फ गइरहेको बीआर ०६ पिएफ ०१९३ नम्वरको स्कारपियोले ठक्कर दिँदा दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइते ट्राफिक जवान साहलाई नवलपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज पठाइएको छ । प्रत्यक्षदर्शी विवेक बनियाँका अनुसार इण्डियन स्कारपियोले ठक्कर दिएर ट्राफिक जवान साहलाई सडक तलको खेतमै पुर्याएको थियो । तीव्र गतिमा रहेको स्कारपियो ट्राफिक प्रहरीलाई ठक्कर दिएर तीव्र गतिमै फरार भएको बनियाँले उज्यालो अभियानसँग बताए ।
यसैबीच, दुर्घटना गराएर भागेको स्कारपियो अहिले खर्भरै (७ः३०) बजेतिर हरिवन ५ घुर्कौलीस्थित खेतमा फेला परेको छ । स्कारपियो चालक भने फरार भएका र उनको खोजी भइरहेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लेखनाथ मैनालीले बताए ।
अधिकांश भारतीय गाडीको कागजात नहुने भएकाले यस्ता सवारी दुर्घटना भएपछि सवारी धनीको पहिचान गर्न गाह्रो पर्ने गर्छ ।
सभार : उज्यालो अभियान