लक्ष्मण यादव
सर्लाही, जेष्ठ २५ गते ।
वर्षायामको समय भएपनि लामो समयको खडेरीका कारण उखुको बोट सुक्न थालेपछि सर्लाहीका कृषकहरू चिन्तित बनेका छन् । उखु खेती विशेषगरी सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा गरिने भएकाले धेरै कृषक मर्कामा परेका छन् । किसानले लगाएको उखु बाली मात्र नभई व्यावसायिकरूपमा लगाइएको तरकारी खेतीमा समेत खडेरीको प्रभाव परेको छ ।
बरहथवा नगरपालिका वडा नं १५ का वडा सदस्य रामहरि श्रेष्ठले खडेरीले उखुको बोट सुक्न थालेको जानकारी दिए । उनले भने, ‘प्रायःजसो आकाशे पानीको भरमा उखु खेती गरेर जीवन गुजारा चलाउँदै आएका यहाँका किसान लामो समयसम्म पानी नपर्दा दुःख गरेर उमारेको उखुको बोट सुक्न थालेपछि चिन्तित छन् ।’
बरहथवा नगरपालिका–१५ हरपुर्वाका किसान रामबाबु यादवले खडेरीले उखु सुक्न थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको बताए । उनले भने, ‘सिँचाइको व्यवस्था नभएकाले आकाशे पानीको भरमा हामी उखु खेती गर्छौं । धेरै खर्च लगाएर गरेको उखु खेती खडेरीले सुक्न थालेपछि भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता बढेको छ ।’
यसैगरी सोही ठाउँका किसान राजकुमार महतोले सिँचाइको व्यवस्था नभएकाले तेल किनेर भाडाको दमकलबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने गरेको र खेत समथर नहुँदा सिँचाइ गर्न कठिनाइ भएको बताए ।
स्रोत : मध्यान्ह