बिरगंज, जेष्ठ ३२ गते ।
पर्साको बिरगंज भन्सार मूख्य नाका भएर तस्करीको लाइन संचालनमा आएको खबरहरू सार्वजनिक भएपछि बिरगंज भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे हेड क्वार्टर तानिएको खबर प्राप्त हुन आएको छ ।
प्रहरी महानिरीक्षक राजु अर्यालले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अन्तर्गत अभियान चलाइरहेको समयमा महानिरीक्षक अर्यालयको अभियान विपरित सशस्त्र प्रहरी बलकै संरक्षणमा तस्करीको लाइन संचालन भएर भन्सार राजश्व संकलन गिर्दै गएको समाचार प्रकाशमा आएपछि वीरगंज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डेलाई सशस्त्र प्रहरी बलको हेडक्वार्टर झिकाएर स्पष्टिकरण लिइएको समाचार स्रोतले जानकारी दिएको छ । यद्यपि सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले आफू विदामा काठमाण्डौ आएको निकटवर्तीहरूलाई बताउने गरेका छन् ।
यता सशस्त्र प्रहरी बललाई मोटो रकम खुवाएर तस्करीको लाइन संचालन गर्ने अनुमति पाएका भारतीय नागरिक कुख्यात तस्कर मुख्तार मियाँको लाइन एक हप्ता बन्द भएर सोमबारबाट पुन: संचालनमा आएको छ ।
वीरगंजको इनर्वा गाउँ, भन्सार पछाडीको बाँसघारीलगायतको क्षेत्र तथा मूख्य भन्सार क्षेत्रबाटै साइकल, अटो, मोटरसाइकल र पैदल भरियाहरू लगाएर मुख्तारले करोडौंको राजश्व छलि गरी कपडालगायतका सामान वीरगंज भित्र्याई नक्कली बिलहरू बनाएर विभिन्न ट्रान्सपोर्टहरूको माध्यमबाट नारायणघाट, पोखरा, काठमाण्डौ लगायतका ठाउँमा पठाउने गरेका छन् ।
एकजना भूपू प्रहरी र अन्य साना तस्करहरूसँग मिलेर मुख्तारले लाइन लिएपछि यतिखेर सीमा क्षेत्र मुख्तारको नाममै भएको जस्तो देखिएको छ । सशस्त्र प्रहरीका डिएसपी तानिने तर तस्करीको लाइन यथावत संचालन भइरहने कुराले तस्कर मुख्तारले सो लाईनकोलागि राम्रै रकम लगानी गरेको बुझिन्छ ।
यता तस्करीको लाइन संचालन छैन भनेर देखाउनकालागि नाटकीय ढंगमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा वीरगंजबाट डिएसपीको कमाण्डमा दिनहुँ मितेरी पुल देखि भन्सार गेटसम्म चेकजाँचकालागि सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि यिनीहरूले सर्वसाधारणहरूले घरेलु प्रयोजनकोलागि सीमावर्ती बजारबाट सामान किनेर ल्याउँदा कुख्यात अपराधी नै प्रवेश गरेजस्तो अनेक केरकार र चेकजाँच गर्छन् तर भरिया तस्करहरूले मुख्तारको माल हो भन्ने बित्तिकै सशस्त्र प्रहरीले जान दिने गरेको जोकोहीले पनि देख्न सक्छन् ।
मुख्तारले मूख्यतया भारतबाट नेपालतर्फ कपडाको तस्करी गरिरहेका छन् भने नेपालबाट बिहारमा प्रतिबन्धित मदिरा तस्करी गरी लैजाने गरेका छन् ।
राजश्व चुहावट नियन्त्रण नभई यसैगरी तस्करीकै माध्यमबाट नै समान भित्र्याउन दिइने हो देशको अर्थतन्त्र झन–झन धराशायी हुँदै जानेमा कुनै शंका नरहेको स्पष्ट छ ।