
चन्दन कुमार महतो
रौतहट, आसार २८ गते ।
राैतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीले ईशनाथ नगरपालिकामा न्यायिक समितिकाे अनुगमन गरेका छन् । न्यायिक समितिले न्याय सम्पादनको क्षेत्रमा गरेका कामबारे जानकारी लिने उद्देश्यले न्यायाधीश मरासिनीले अनुगमन गरेका हुन् ।
न्यायिक समितिले गरेकाे कामबारे जिल्ला न्यायाधीशले अनुगमन गरी वार्षिक प्रतिवेदन तयार गर्ने प्रावधान रहेको छ । ईशनाथ नगरपालिकाको न्यायिक समिति अनुगमनकाे क्रममा न्यायाधीश मरासिनीले केही सुझावसमेत दिएका छन् । न्यायाधीश मरासिनिले ईशनाथ नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक महमद प्रवेजलाई न्याय सम्पादनको काम इजलासबाट गर्न, निर्णयमा न्यायिक समितिका तीन जनाले मात्र हस्ताक्षर गर्न र मुद्दा पेसीका दैनिक तथा साप्ताहिक सूची राख्न सुझाव दिएका थिए ।
ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले दिएको जानकारी अनुसार नगरपालिकामा जग्गा सम्बन्धी बढी विवाद आउने गरेको छ । जग्गा नापजाँचका लागि दुवै पक्षसँग निवेदन लिई फिल्डमा गई विवाद सामाधान गराउने गरिएको उनले बताए ।
न्यायिक समितिमा आर्थिक वर्ष २०७९/०८० मा व्यक्तिगत ४१ वटा विवाद दर्ता भएको छ । जसमध्ये २१ वटा विवाद निरुपण भइसकेको र १९ वटा विवाद निरुपण हुन बाँकी रहेको छ । सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी १, पैनी जग्गा अतिक्रमण सम्बन्धी १, हनुमान मन्दिर जग्गा अतिक्रमण सम्बन्धि १ र निजी जग्गा सम्बन्धि २ मुद्दा रहेका छन् ।
अनुगमनका लागि ईशनाथ नगरपालिकामा न्यायाधीश मरासिनी पुग्दा न्यायिक समितिका सदस्यद्वय उपेन्द्र महरा र तजमुल खांले स्वागत गरेका थिए ।