काठमाडौं : तल्लो दर्जामा कार्यरत प्रहरी हरेक तरहको भेदभाव हुने गरेको छ । कुनै अधिकृतले कुरै नबुझी तल्लो दर्जाका प्रहरीलाई कुट्ने, यातना दिने गरेका घटना यदाकदा आइरहन्छन् ।यस्तै भएको छ, बागमती प्रदेश प्रहरी गण हेटौंडामा ।
उक्त गणका गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ ।
प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ ।
जवान भण्डारीका दम्पत्ति नै प्रहरीमा कार्यरत छन् । काभ्रेबाट गणमा सरुवा भएका भण्डारी दम्पत्तिलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन ।
शनिबार बिहान अण्डरवेयर किन्न गणको गेटबाट बाहिर निस्केर तुरुन्त फर्किएका जवान भण्डारी र उनीसँगै गएका सन्तोष अधिकारीलाई एसपी खड्काले १ सय ५० भन्दा बढी प्रहरीका बीचमा एक्कासी कुटपिट गरेका थिए ।
उनले जथाभावी मानवीय संवेदना पनि नराखी कुट्दा भण्डारीको कान नै बन्द भएको छ । एसपी खड्काको आक्रमणबाट भण्डारीको कानको जाली नै फुटेको छ ।प्रहरी जवानलाई यातना दिएकोबारेमा एसपी खड्कासँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।