गाैशाला, साउन १९ गते ।
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई द्वारा फार्मेसीमा दोस्रो वर्ष अध्यनरत विद्यार्थी इन्द्रजित सिंहको विशेष पहलमा महोत्तरीको खयरमारा बर्दिवास स्थित CTEVT अन्तर्गतका निर्मल लामा बहुप्राविधिक शिक्षालयको अनुगमन गरिएको छ ।
निर्मल लामा बहुप्राविधिक शिक्षालयले विकासको गति लिएको र उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुशीको अनुभूति भएको छ । तर पचास विघा क्षेत्रफलको क्याम्पसभित्र शिक्षक र विद्यार्थी निम्ति आवासको व्यवस्था त के त्यसको योजना समेत नहुनु चाहिं विडम्वनापूर्ण देखिएको छ ।
मधेश प्रदेशकै नमूना कलेजको रुपमा स्थापित शिक्षालयमा हाल देशका ३२ जिल्लाका एक हजार भन्दा धेरै विद्यार्थी प्राविधिक तर्फका विभिन्न संकायमा अध्ययन गरिरहेका छन् । अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले निर्मल लामा बहु प्राविधिक शिक्षालयबाट देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेको भन्दै खुसी व्यक्त गरेका छन् । त्यसक्रममा नेता भट्टराईले शिक्षालयमा अध्ययनरत विद्यार्थीको लागि आवास र खानेपानीको व्यववस्थापनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।
पूर्व झापादेखि पश्चिम हुम्लासम्मका विद्यार्थी अध्ययन गरिरहेको शिक्षालयमा होस्टेल (आवास)को भने अभाव छ। शिक्षालयमा आवासको व्यवस्था नहुँदा विद्यार्थीले स्थानीयबासीका निजी घरमा महंगो मूल्य तिरेर बस्नुपर्ने बाध्यता छ ।
नेता भट्टराईले शिक्षालयबाट उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुसी लागे पनि शिक्षलयमा आवासको व्यवस्था र योजनासमेत नहुनुलाई बिडम्बनापूर्ण भनेका छन् ।
यस शिक्षालयमा फार्मेसी, रेडियोग्राफी, सिभिल इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ, होटल म्यानेजमेन्टसहित प्राविधिक धार तर्फका सातवटा संकायमा पठनपाठन भइरहेको फार्मेसीमा दोस्रो वर्ष अध्यनरत विद्यार्थी इन्द्रजित सिंहले जानकारी दिएका छन् ।
शिक्षालयमा अहिले पनि भौतिक संरचना निर्माणको काम चलिरहेको छ। कोरियन सरकारको एक अर्ब भन्दा धेरै आर्थिक सहयोगमा शिक्षालयमा भवनहरु निर्माणको काम भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।