काठमाडौं : बैतडीमा महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ ।
जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको वडा अध्यक्ष जनक बहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार राती सर्पले टोकेको र परिवारका सदस्यहरु बैद्यलाई बोलाउनतर्फ लाग्दा अनिताको मृत्यु भएको हो ।
अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो । ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन् । अनिता जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यनरत थिइन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन् । पञ्चेश्वर–४ का कर्मचारी चन्दका अनुसार पहिलेको तुलनामा महिनावारी भएको बेला गोठमा सुत्ने ‘प्रथा’ अहिले कम भएको छ । तर केही परिवारका महिला भने अहिले पनि महिनावारी हुँदा गोठमै सुत्ने गरेका छन् ।