नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् ।
विद्यालयमा हरेक दिन बिहान ६:०० देखि ७:३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेका छन् । “सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाइ दुवै राम्रो भइरहेको छ”, उनले भने ।
गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गतको सिलाइकटाइ तालिममा सरुखाजस्तै सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन् ।
क्याट्रिना तामाङले पनि विद्यालयमा नै दैनिक सिलाइकटाइ तालिम लिन पाउँदा खुसी लागेको बताए । “विद्यालयमा पढाइमात्र हुने गरेको थियो तर यो वर्षदेखि सिलाइकटाइ तालिम पनि सुरु भएको छ, हामीलाई धेरै प्रभावकारी भइरहेको छ”, उनले भने ।