गाैशाला : महोत्तरीको बर्दिवास नगरपालिका अन्तर्गत लक्ष्मिनियामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बर्दिबास नगरपालिका वडा नम्बर –१० मा पर्ने पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनिया स्थित जङ्गली क्षेत्रमा बिहीबार बेलुका मोटरसाइकललाई जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भन्ने दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा परी गौशाला वडा –८ का ५१ वर्षीय भुवन ग्राङजाको उपचारको क्रममा बर्दिबासस्थित ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो ।
सोही ठाउँका ५० वर्षीय वीरबहादुर मगर तथा गौशाला –१२ का ३५ वर्षीय आयुषमान लामा घाइते हुनुभएको छ ।
गम्भीर अवस्थामा रहेका लामाको काठमाडौँ तथा मगरको बर्दिबास ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र२–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको जिपले ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न रहेको आशङ्कामा बर्दिबास प्रहरीले प्र२–००१च १२३१ नम्बरको जिपलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बर्दिवास प्रहरीका नायव उपरीक्षक यादवले बताउनुभयो ।