गाैशाला, माघ ९ गते ।
महाेत्तरीमा गौशाला इन्जिनियरिंग कलेज सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाैशाला नगरपालिका अन्तर्गत त्रिभुवन मा.वि. मा मधेस प्रदेशको मुख्यमन्त्री सराेज कुमार यादवको प्रमुख अतिथिमा गौशाला इन्जिनियरिंग कलेज सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।
त्रिभुवन मा.वि. मा मधेश प्रदेशको पहिलो सरकारी इन्जिनियरिंग कलेज पूर्ण रुपमा संचालनमा आएको छ । राजर्षी जनक विश्व विद्यालयद्वारा गौशालामा संचालित इन्जिनियरिंग कलेजमा यहि माघ १४ गतेदेखि कक्षा संचालन हुन गईरहेको छ ।
कलेजको कक्षा संचालनको लागि ओरियन्टेसन गरि विद्यार्थी अभिभावक र राजर्षी जनक विश्व विद्यालयका उपकुलपति, सभासद, रजिस्ट्रार लगायत बिच छलफल भएको छ भने कक्षा संचालनको लागि कार्यविधि, विद्यार्थीको अनुशासन सम्बन्धि कार्यविधि, पठनपाठनको कार्यविधि भ्युजवल माध्यमबाट प्रस्तुत गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै क्याम्पस प्रमुख रामदयाल यादवले मधेशको शिक्षा गुणस्तरीहिन भएकोले मधेश प्रदेशमा कुनै पनि विद्यार्थीले पढ्न नरुचाएको जिकिर गरे । त्यसलाई सुधार्नको लागि नै गौशालामा यो इन्जिनियरिंग क्याम्पस संचालनमा आएको र मधेश प्रदेशको शिक्षा उत्कृष्ट बनाउन यसको अहम भूमिका रहने उनले बताए । साथै उनले क्याम्पसको व्यवस्थापन लगायत कुनै पनि पक्षमा कुनै पनि किसिमको कमीकमजोरी नहुने दावी समेत गरे ।
राजर्षी जनक विश्व विद्यालयको प्रशासनका प्रमुख भोगेन्द्र झाले यस क्याम्पसलाइ सबैले सहयोग गरेमा मात्र यो सफलतापुर्वक अगाडी बढ्ने बताए । यहाँको स्थानीय सरकारले क्याम्पसको लागि जग्गा व्यवस्थापन गरिदिएमा क्याम्पसमा अन्य संकायको अध्ययन सुचारु गरिने उनले बताए ।त्यस्तै गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतोले गौशाला नगरपालिकाले कम लगानीमै शिक्षा क्षेत्रमा राम्रो विकास गरेकोप्रति खुसि व्यक्त गरेका छन् । साथै उनले गौशाला बहुमुखी क्याम्पसमा पनि राम्रो पठनपाठन हुने गरेको उनले बताए । उनले इन्जिनियरिंग क्याम्पसको लागि पालिकाले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त पनि गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सांसद भरत प्रसाद साहले लामो समयपछी एउटा सपना पुरा भएको बताए । ‘तिन तहको सरकारमा गौशाला नगरपालिकामा स्थानीय सरकार जसपाबाट निर्वाचित भएको छ संघीय सांसद नेकपा एमालेबाट भएको छ भने म सांसद माओवादी पार्टीबाट भएको छु’ भन्दै उनले पार्टी जुनसुकै भएपनि उद्देश्य र लक्ष्य भने एउटै रहेको बताए । विद्यार्थीहरुलाई अभिभावकहरुले पढ्ने वातावरण बनाइदिनुपर्ने र त्यसको लागि छिटै सर्वदलीय वैठक बस्ने उनले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले आफुले शिक्षालाई प्राथमिकमा राखेको र त्यसको लागि सदैव लागिरहने बताए । उनले क्याम्पस संचालन भएपछी विद्यार्थीहरु टाढा वा अन्यत्र पढ्न जाने बाध्यताबाट बन्चित हुने बताए । साथै गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन हुनु समग्र मधेश प्रदेशकै लागि गर्वको कुरा रहेको बताए ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षा सुधारको लागि शिक्षकहरुको भात्रृ संगठन खारेज गर्नुपर्ने बताए । शिक्षकहरुले अध्यापन कम र राजनीति बढी गरेकोले मधेश प्रदेशको शिक्षा कमजोर भएको र एउटा पनि जिल्ला साक्षर हुन नसकेको उनको भनाइ छ । राजर्षी जनक विश्व विद्यालयको कार्यालयको लागि र इन्जिनियरिंग क्याम्पसको लागि जग्गा व्यवस्थापनको लागि प्रदेशमा बजेट विनियोजन गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव, महोत्तरी क्षेत्र न. १ का सांसद लक्ष्मी महतो, प्रदेश सांसद भरत प्रसाद साह, राजर्षी जनक विश्व विद्यालयका उपकुलपति प्रोफेसर डाक्टर अमर प्रसाद यादव, राजर्षी जनक विश्व विद्यालयका प्रशासन प्रमुख भोगेन्द्र झा, सभासद तथा माओवादी पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेल, रजिस्ट्रार सत्यनारायण साह, राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष शशीकला दाहाल, गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र कुमार महतो, गौशाला इन्जिनियरिंग क्याम्पस प्रमुख रामदयाल यादव, गौशाला बहुमुखी क्याम्पसका प्रमुख दुर्गा प्रसाद सिंह लगायत विभिन्न समाजसेवी, वुद्धिजीवी, अभिभावक, शिक्षकवर्गहरुको सभागिता रहेको थियो ।

