जनकपुरधाम, माघ २२ गते ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।
नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद यादवले करारका कर्मचारी भर्नाको नतिजा प्रकाशन गर्न आलटाल गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन् ।

नगरपालिकाले वैशाख १० मा करारका कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशन गरेको थियो । विज्ञापन अनुसार करार कर्मचारीको नतिजा प्रकाश नहुँदा नगरपालिकाको एम्बुलेन्स, जेसिबि लगायत अन्य सवारी साधन प्रयोगमा आउन नसकेको वडा नं. ८ का वडाध्यक्ष जीवछ यादवले बताउनुभयो ।
नगर प्रमुखलाई नतिजा प्रकाशन गर्न पटक-पटक आग्रह गर्दा कुराको सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले जानकारी दिनुभयो । १० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयमा कार्यालय सहयोगी समेत नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको उहाँको भनाइ छ ।

