पवन प्रसाद साह
बिरगंज, माघ २९ गते ।
राजा सहितको प्रजातन्त्र जसमा स्थानिय र केन्द्रिय गरि दुई तहको हुनुपर्ने राप्रपा नेपालको माग रहेको छ ।
बिरगंज स्थित होटेल सुरजमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रुपमा टिप्पणी गरे ।
देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि संघीय संरचना खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर रहेको छ ।

राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यमबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । साथै निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए ।
त्यसका लागि एक वर्षभित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरण गरिसक्नुपर्ने अध्यक्ष थापाको भनाई थियो ।
उनले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए ।
अध्यक्ष थापाले भने, ‘हाम्रो तत्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य गर्ने र विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने बताए ।
संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए । केन्द्र र स्थानीय गरी दुई तहको राज्यसंरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यन्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने र त्यसबाट भएन भने आन्दोलन गर्ने तथा आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्दा आफ्नो माग पुरा हुने प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले बताए ।

