काठमाडौं, चैत ३ गते ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपाबीच पार्टी एकताको सहमति भएको छ । शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको सहमति जुटाएका हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए । तर, नेसपाका अर्का अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी थिएनन् ।
डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । यसैबेला प्रचण्डले उक्त पार्टीका सांसदहरुलाई आफ्नै पार्टीमा समायोजन गराएका हुन् ।
नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै बागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् ।

