मुकेश झा
सर्लाही, बैशाख १८ गते ।
सर्लाहीको धनकौल गाउँपालिका–२ मा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ ।
स्थानीय सुरेश मण्डलको घरमा विद्युत् सर्ट भइ सुरु भएको आगलागीले छिमेकका गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामप्रित मण्डल र शिवजी मण्डलको घर जलेर ध्वस्त भएको बरहथवा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

आगलागीका बेला तीव्र गतिमा हावा चलेकाले फुसको छानो भएका घरहरु छिनभरमै जलेर खरानी भएका थिए । प्रत्यक्षदर्शीका अनुसार निभाउने प्रयत्न गर्दागर्दै घरहरु जलेर खरानी भए ।
आगलागी नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीले निकै मेहनत गर्नु परेको थियो । आगो अहिले पूर्ण रुपमा निभाइसकिएको स्थानीयले बताए । आगो निभाउन रौतहट सदरमुकाम गौरबाट मगाइएको दमकल बाटैबाट फर्किएको छ ।

