सर्लाही, बैशाख २० गते ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को छनौटमा पर्ने १३ वर्ष मुनिका सर्लाहीका चार खेलाडीलाई सम्मानसहित विदाई गरिएको छ ।
सम्मानित हुनेहरुमा हरिवन ३ डाबरीका युजेनमान लोप्चन, लालबन्दी १७ रानीगञ्जका आदित्य बलम्पाकी मगर, लालबन्दी १ नवलपुरका आदेश दास र बागमतीका प्रित मगर रहेका छन् ।
उनीहरुलाई सर्लाही जिल्ला फुटबल संघले लालबन्दीमा एक कार्यक्रमको आयोजना गरी खादा तथा अविर लगाई सम्मानसहित कार्यक्षेत्रमा प्रस्थानका लागि विदाई गरिएको हो ।
संघका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ्ग(विष्णु)को अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा खेलाडीहरुको हौसला वृद्धि गर्ने उदेश्यले सम्मान गरिएको संघका महासचिव शिवहरी गौतमले बताउनुभयो । उहाँका अनुसार एन्फाले केही दिन अघि देशभरबाट खेलाडी छनौट गरेको थियो । जसमा मधेश प्रदेशमै सबैभन्दा बढी सर्लाहीबाट चार खेलाडी छनौट भएका हुन् ।

सम्मान तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी मेयर आचार्यले खेलाडी र खेदकुदको विकासका लागि आफू सधैं सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्रको नाम विश्वमा चिनाउने भनेकै खेल र खेलाडी भएकोले आफूले खेलाडी र खेलकुदको विकासमा केही न केही गर्ने सोच बनाएको बताउनुभयो ।
यु–१३ खेल्न जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई बधाईसहित सफलताको शुभकामना दिनुहुँदै मेयर आचार्यले राष्ट्रका लागि खेल्छु भन्ने खेलाडीलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताउनुभयो । उहाँले छनौटमा परेका खेलाडीहरुलाई एक सेट जर्सीसमेत प्रदान गर्नुहुँदै आफूले थप ट्रयाकसुट समेत मगाएकोले केही दिनमै उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै लालबन्दी नगर खेलकुद संघका संयोजक एवम् वडा नम्बर १७ का वडाअध्यक्ष विष्णुहरी अधिकारीले जिल्लाको अमिट छाप राख्ने गरी कडा मेहनतका साथ खेल्न छनौटमा परेका खेलाडीहरुलाई आग्रह गर्दै सफलताको शुभकामना दिनुभयो । उहाँले जिल्लाबाट मधेश प्रदेशमै सबैभन्दा बढी खेलाडी छनौटमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेल प्रशिक्षकहरुलाई समेत धन्यवाद दिनुभयो ।
सम्मान तथा विदाई कार्यक्रममा हरिवन ३ का वडाअध्यक्ष दिपमान लोप्चन (छनौटमा परेका खेलाडी युजेनमान लोप्चनका बुवा) जिल्लाका अगुवा खेल प्रशिक्षक अर्जुन चौधरीले समेत खेलाडीलाई शुभकामना दिनुभयाे ।
कार्यक्रममा सर्लाही जिल्ला फुटबल संघका उपाध्यक्ष विभुसिंह थापा, सदस्य सुरज कार्की, खेल प्रशिक्षक श्याम कटुवाल र खेलाडीका अभिभावकहरुको आतिथ्यता रहेको थियो ।





