हरिपुर्वा, जेष्ठ ३ गते ।
सिमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित बर्थिङ सेन्टर निर्माणका लागि वडाध्यक्ष सतेन्द्र रायले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।
उहाँले स्वर्गिय बुवा रामइश्वर राय यादवको नाममा बर्थिङ सेन्टरका लागि एक कठ्ठा १७ धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । चलनचल्तीको मूल्य अनुसार उक्त जग्गा १० लाख रुपियाँ बराबरको रहेको छ ।

सो जग्गामा बर्थिङ सेन्टर निर्माणका लागि मधेश प्रदेश सरकारले यो वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष रायले जानकारी दिनुभयो ।
बर्थिङ सेन्टरको भवन निर्माणको लागि आज बिहान गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, उपाध्यक्ष नुतन देवी तथा वडाध्यक्ष संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । आगामी असार मसान्तभित्रै बर्थिङ सेन्टरको भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।

