जलेश्वर, असार २० गते ।
महोत्तरीको गौशालामा गोली प्रहार गरी सुनको सिक्री लुटने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला-११ का ३८ वर्षीय विनयकुमार सिंहलाई गत जेष्ठ २८ गते गोली प्रहार गरेर सिक्री लुट्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले बताए ।
सिंहलाई गोली प्रहार गरेको आरोपमा धनुषा सबैला-९ का ४७ वर्षीय शशीशंकर कापर र महोत्तरी भंगहा-२ का ३० वर्षीय आशिष कुमार कंठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।
पक्राउ परेका कापर १० वर्ष र कंठ ३० महिना सजय भोगेका अपराधी रहेको र उनीहरू जेलमा बस्दा चिनजान भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी फरक फरक घटनामा संलग्न अपराधी र अपराधमा प्रयोग भएको हतियार, मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ ।
प्रहरीले विभिन्न लुटपाट र चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ ।

