चन्दन कूमार महतो
राैतहट, साउन १० गते ।
रौतहटको बौद्धिमाइ नगरपालिका–३ मटीअर्बामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकहरुले खातामा आएका अनुसारको रकम पाएका छन् । गरिब, विपन्न परिवारका व्यक्तिलाई १०० दिने रोजगारी दिने उदेश्यले सञ्चालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ५६ दिन काम गरेबापतको रकम ३६ हजार ३ सय रुपैयाँ बुझेको काम गरेका स्थानीय मेघु राउत कुर्मीले बताए ।
नगरपालिकाले दिएको ७ जनाको रोजगारीमा खटेका स्थानीय नथुनी महतो, जैतुन खातुन, माया देवी, अरुणकुमार गुप्ता, सोनेलाल बैठा र रिना कुमारी कुशवाहाले काम गरे वापतको खातामा आएका रकम ३६ हजार ३ सय बुझी लिएको बताएका छन् । वडाध्यक्ष मनिभुषण साहले परिश्रमको रकमबाट कमिसन लिएको भनि सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति आक्रोसको उपज रहेको उनीहरुले बताएका छन् ।
आफूहरू आक्रोसित भएर वडाध्यक्ष साहमाथि गलत टिप्पणी गरेको भने काम गरेको दिनको बैंक मार्फत आएको रकम वडाध्यक्ष मार्फत लिइसकेको सोनेलाल बैठाले बताए । वडाध्यक्ष साहले नगरप्रमुख प्रदीप यादवले ७ जनालाई मात्र राख्ने गरी दिएको कोटा अनुसार ७ जनालाई रोजगारी दिएको र उनीहरुले कामसमेत गरेको बताए ।
नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार दैनिक रुपमा पाउनुपर्ने ज्यालादारी अनुसारको रकम काम गर्ने व्यक्तिको खातामा नै गएको र सो अनुसारको रकम पाइसकेको उनले प्रस्ट पारे ।
राजनीतिक प्रतिसोध साध्नका लागि विपक्षीहरू आफूविरुद्ध उचालेर गलत आरोप लगाउने कार्य गरेको उनले दाबी गरेका छ ।

