सर्लाही, चैत ८ गते ।
नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति तथा पूर्व मन्त्री बिरेन्द्र प्रसाद सिंह हाल जनताको माझमा अत्यन्त लोकप्रिय बन्दै गइरहेका छन्। उनको स्वकीय सचिव तथा नेपाली कांग्रेस मधेश प्रदेश सूचना विभागका सचिव निकेश त्रिपाठीका अनुसार सिंह सधैं पार्टी, कार्यकर्ता र जनताको साथमा रहँदै आएका छन्।
जनताको नेता, संकटको साथी
त्रिपाठी भन्छन्, “पार्टी संकटमा परेको बेला होस् वा निर्वाचनको समय, आदरणीय नेता सुरेन्द्र प्रसाद सिंह र वीरेन्द्र प्रसाद सिंहले कहिल्यै पार्टी वा उम्मेदवारको विरोधमा गद्दारी गरेका छैनन्। बरु, कांग्रेसलाई संकटको घडीमा मजबूतीका साथ सम्हाल्ने नेता नै यिनीहरू हुन्।”
सिंह निर्वाचित भएर घरमै बस्ने सांसद होइनन्। उनी निरन्तर जनताको माझमा रहन्छन्। सर्लाही र मधेश प्रदेशका हरेक क्षेत्रमा उनको व्यापक जनसमर्थन छ। जिल्ला स्तरका कार्यक्रमहरू, विवाह-जन्ती, मरण-हरण, जन्मोत्सव, धार्मिक अनुष्ठान, उद्घाटन तथा शिलान्यास कार्यक्रम, खेलकुद प्रतियोगितासम्म, जनताले उनलाई निम्त्याउने गर्छन्।
मधेशको पहिचान र संघर्षका योद्धा
सुरेन्द्र प्रसाद सिंह र बिरेन्द्र प्रसाद सिंह सर्लाहीका मात्र होइनन्, सिङ्गो मधेशकै नेता हुन्। मधेशी पहिचान, हक र अधिकारका लागि उनीहरूले पुर्याएको योगदान अतुलनीय छ। उनीहरू सधैं शोषित, उत्पीडित, सीमान्तकृत समुदायको हकका लागि लड्दै आएका छन्।
निकेश त्रिपाठी भन्छन्, “बिरेन्द्र प्रसाद सिंह कुनै पुँजीवादी वा सामन्ती सोचका प्रतीक होइनन्। उनी समाजमा रहेको अन्याय, अत्याचार, विभेदको विरुद्ध लड्ने एक सच्चा योद्धा हुन्।“
नेतृत्व परिवर्तनको हतार नगर्न चेतावनी
त्रिपाठीले जिल्लाको नेतृत्व परिवर्तनका लागि हतार गर्नेहरूलाई चेतावनी दिँदै भने, “नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई कसैले टिकाटिप्पणी गरेर होइन, आम कांग्रेस कार्यकर्ताले निर्वाचनमार्फत सभापति बनाएका हुन्। १०० सदस्यीय जिल्ला कार्यसमितिमध्ये ९९ जना सभापतिको पक्षमा निर्वाचित भएका छन्।”
उनले थपे, “कसैको व्यक्तिगत आक्रोश वा चर्को नाराबाजीले सभापति राजीनामा दिनुपर्ने कारण बन्दैन। यदि सभापति दोषी छन् भने पार्टी विधानअनुसार निर्णय हुनेछ। तर, व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्नको लागि अनावश्यक हल्ला मच्चाउनु व्यर्थ छ।”
पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। उनले मधेशमा आफ्नो सक्रियता अझ बढाउँदै लगेका छन्। जनताको समर्थनलाई आधार मानेर हेर्दा, उनी आगामी दिनमा अझ महत्त्वपूर्ण भूमिकामा देखिने संकेत स्पष्ट छ।

