पवन प्रसाद शाह
बिरगंज, चैत २५ गते ।
जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाको सरुवा गरिएको छ। चैत १३ गते बहुदरामाई नगरपालिका–६ का लक्ष्मण साह तुरहाले आफ्नो छोराको नागरिकता बनाउन निवेदन दिएका थिए। तर, अधिकृत खतिवडाले विभिन्न बहाना देखाएर निवेदनमा प्रक्रिया अघि नबढाएको आरोप लागेको छ।
पीडित तुरहाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा जिल्ला उपाध्यक्ष अवधकिशोर साहलाई उक्त घटनाबारे जानकारी गराएका थिए। त्यसपछि बिरगंज महानगरका पूर्व नगर अध्यक्ष जलेश्वर सर्राफसहितको टोलीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालसमक्ष विषय उठाएका थिए। सिडिओ अर्यालले तत्काल खतिवडालाई आफ्नो कार्यकक्षमा बोलाई झपारेका थिए।
सोही क्रममा नेता सर्राफले गृह सचिवलाई फोनमार्फत घटना विवरण जानकारी गराउँदा, गृह सचिवले तत्काल कारबाहीको आश्वासन दिएका थिए। सो विषय विभिन्न सञ्चार माध्यमहरूमा समेत प्रकाशित र प्रशारित भएपछि आज खतिवडाको सरुवा गरिएको हो।
सूत्रका अनुसार, सरुवाको निर्णय गृह मन्त्रालयको निर्देशनमा गरिएको हो ।

