गाैशाला, बैशाख ३ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथि निर्माण गरिएको झुलुङ्गे पुलको आज एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ । मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले पुलको समुद्घाटन गर्दै स्थानीय पूर्वाधार विकास र दुई जिल्लाबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

झन्डै ४८ मिटर लम्बाइ र १.५ मिटर चौडाइ रहेको सो झुलुङ्गे पुल मटिहानी नगरपालिका र संघीय सरकारको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको हो । कुल लागत ७५ लाख १२ हजार रुपैयाँ रहेको यस परियोजनाको निर्माण प्राविधिक पक्षको नेतृत्व मटिहानी नगरपालिकाका इञ्जिनियर बिमलेश साहले गर्नुभएको हो। उहाँका अनुसार, पुल निर्माणसँगै मटिहानी नगरपालिका (महोत्तरी) र तुलसियाही (धनुषा) बीचको आवागमन सहज र सुरक्षित हुने भएको छ, जसले स्थानीय जनताको दैनन्दिन जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।
समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाकी उप–प्रमुख श्रीमती मन्जु देवी साह, वडा नं. १, २ र ३ का अध्यक्षहरू जीतनारायण माझी, कलीम अंसारी र रितेश साह, कार्यपालिका सदस्यहरू अरुण नाहर, सुनेकेशी चौधरी, साथै महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, पूर्व उपाध्यक्ष राकेश गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, सचिव रंजीत साह र सदस्य संजय पंजियारको उपस्थिति थियो।

त्यसैगरी, कार्यक्रमलाई लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल, नेकपा एमालेका नेता जगेश्वर खतवे, तुलसियाहीका अगुवा व्यक्तित्व जीवेश साह, महेश्वर साह, बिश्वनाथ साह लगायत स्थानिय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताले विशेष बनाएको थियो।
उक्त पुलको निर्माणले मटिहानी र तुलसियाहीका स्थानीयहरूलाई बजार, विद्यालय, स्वास्थ्य सेवा र अन्य सामाजिक सेवाहरूमा पहुँच सहज बनाउने छ। वर्षायाममा नदी पार गर्ने कठिनाइलाई अन्त्य गर्दै, यो पुलले दुई जिल्लाबीचको सामाजिक–आर्थिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




