नरेन्द्र महतो
गौशाला, बैशाख २९ गते ।
महोत्तरीको गौशालामा चार तल्ले घरको छतमा पानी ट्यांकी जडान गर्ने क्रममा खसेर गम्भीर घाइते भएका भुलन मिश्राले घरधनीको पक्षबाट उपचारका लागि पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्।
गौशाला नगरपालिका–५ स्थित पण्डित मनोज मिश्र (पण्डिजी)को घरको छतमा काम गरिरहेका बेला भित्तो भत्किएर मिश्र खस्दा दुबै खुटामा चोट लागेको थियो। दायाँ खुटामा गहिरो चोट र बाँया खुटा भाँचिएको हुँदा उनको प्रारम्भिक उपचार गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा सम्भव नहुँदा जनकपुरस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा भर्ना गरिएको हो।

पीडित मिश्राको श्रीमती अम्बिका देवी मिश्रका अनुसार आर्थिक अवस्था कमजोर रहेका मिश्रले हालसम्म घरधनी मनोज मिश्रबाट एम्बुलेन्स सुविधा र नगद १५ हजार मात्र सहयोग पाएका छन्। “बुधबार दुर्घटना भएको हो, तर अहिलेसम्म १ लाख ५० हजार रुपैयाँ खर्च भइसक्दा पनि थप कुनै सहयोग पाएको छैन,” भुलन मिश्रले भने।

उनका अनुसार खुट्टामा स्टील राखिएको छ र रगत धेरै बगेकाले शारीरिक कमजोरी महसुस भइरहेको छ। “पाँच दिनदेखि अस्पतालमा छु, तर घरधनी तर्फबाट कोही पनि भेट्न आएको छैन,” मिश्रले भने, “यदि अझै पनि सहयोग नपाए कानुनी उपाय अपनाउन बाध्य हुनेछु।”

अस्पतालको इमर्जेन्सी शुल्क मात्र दैनिक २५ सय रुपैयाँ लाग्ने र खर्च थेग्न गाह्रो भइरहेकाले खानपानमा समेत समस्या भइरहेको परिवारको भनाइ छ। “पैसा समयमै नआए उपचारमै समस्या आउन सक्छ,” उनका परिवारजनले चिन्ता व्यक्त गरे ।





