चमेली सिंह
गाैशाला, जेष्ठ २ गते ।
महोत्तरीको सम्सी गाउँपालिका अन्तर्गत शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार सुदृढ बनाउने उद्देश्यका साथ बाबा बानेश्वर आधारभुत विद्यालय र आधारभुत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
शुक्रबार सम्सी गाउँपालिका–१ स्थित निर्माणस्थलमा आयोजित विशेष समारोहमा पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादव, गाउँपालिका अध्यक्ष रामनाथ यादव, उपाध्यक्ष अनिता देवी यादव तथा वडा नं. १ का अध्यक्ष विपिन बिहारी यदुविररले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।
पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले गाउँको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको मजबूती अपरिहार्य रहेको उल्लेख गर्दै आफूले विगतदेखि नै यस क्षेत्रमा प्राथमिकता दिँदै आएको बताए ।
शिक्षाको स्तर अभिवृद्धि गर्ने अपेक्षा
बाबा बानेश्वर आधारभुत विद्यालयको नयाँ भवन निर्माणका लागि रु. १ करोडको बजेट विनियोजन गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार अभावका कारण शिक्षण सिकाइमा समस्या आइरहेका बेला नयाँ भवन निर्माणले शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
पालिका अध्यक्ष यादवले समारोहमा बोल्दै विद्यालयको स्तरीकरणका लागि भवन मात्रै नभई योग्य जनशक्ति र पठनसामग्रीको पनि आवश्यकताको कुरा उठाउँदै पालिका स्तरबाट थप पहल हुने आश्वासन दिए ।
स्वास्थ्य सेवा पहुँचमा सुधार हुने अपेक्षा
त्यस्तै, वडा नम्बर १ मा निर्माण गरिने आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनका लागि रु. ३७ लाख लागत अनुमान गरिएको छ। स्थानीय स्तरमै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहित केन्द्रको निर्माण थालिएको वडा अध्यक्ष यदुबिरले जानकारी दिनुभयो ।
स्थानीय सहभागिता र उत्साह
शिलान्यास समारोहमा गाउँपालिका कार्यालयका विभिन्न शाखाका कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक तथा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीयवासीले भावी पुस्ताका लागि आवश्यक पूर्वाधार निर्माणमा भएको सरकारी प्रयासको स्वागत गरेका थिए ।
शिलान्यासपछि निर्माण प्रक्रिया चाँडै अगाडि बढाइने र तोकिएको समयभित्र सम्पन्न गरिने लक्ष्य राखिएको सम्सी गाउँपालिकाले जनाएको छ । यस्ता आयोजनाले गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।







