पवन प्रसाद साह
बिरगंज : मधेश प्रदेश सरकारले विगतमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै मधेशी शहीद तथा घाइते परिवारहरूले प्रदेश सरकारविरुद्ध दोस्रो दिन पनि धर्ना जारी राखेका छन्। उनीहरू जनकपुरस्थित मुख्यमन्त्री कार्यालय गेट अगाडि आन्दोलित छन्।
धर्नाको दोस्रो दिन आन्दोलनकारीहरूले कदम चोकबाट प्रदेशका मुख्यमन्त्री शतिश सिंह र गृहमन्त्री राजकुमार लेखीको तस्वीरसहित विरोध र्याली निकाल्दै नारा लगाएका थिए।
शहीद परिवारका तर्फबाट धर्नामा सहभागी अवधेश पटेलले भने,
> “हाम्रो बाबु, छोराहरूको रगत बगाएर बनेको प्रदेश हो यो। अघिल्लो सरकारले गरेका सहमतिहरूको कार्यान्वयनमा अहिलेको सरकार उदासीन देखिएको छ। त्यसैले हामी न्याय खोज्दै सडकमा बस्न बाध्य भएका छौं।”
उनका अनुसार अघिल्लो सरकारले गठन गरेको मधेशी शहीद प्रतिष्ठानमा शहीद परिवारका एक पुरुष र एक महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो। तर प्रतिनिधि रामनरेश राय यादवको निधनपश्चात नयाँ सदस्य नियुक्तिको प्रस्ताव अझै बेवास्तामा परेको छ ।
प्रमुख मागहरू यस्ता छन्:
मधेशी शहीद प्रतिष्ठानमा रिक्त पदमा प्रतिनिधि नियुक्ति
शहीद परिवारका सदस्यहरूलाई स्वास्थ्य बीमा सुविधा
“एक परिवार, एक रोजगारी” नीति कार्यान्वयन
छात्रवृत्ति व्यवस्था सहितको शैक्षिक सुविधा
प्रतिष्ठानका लागि छुट्याइएको २ करोड रुपैयाँ बजेटको प्रभावकारी उपयोग
बजेट फ्रिज हुने खतरा
पटेलका अनुसार प्रतिष्ठानका लागि छुट्याइएको दुई करोड रुपैयाँ अहिलेसम्म खर्च नभएकाले बजेट फ्रिज हुने जोखिम देखिएको छ। यद्यपि गृहमन्त्रीसँग बारम्बार संवाद भएको भए पनि, “पार्टी अधिवेशन”, “सरकारी प्रक्रिया” लगायत बहानाहरूले मात्र संवाद अलमलिएको उनको भनाइ छ ।
अघिल्लो सरकारले गरिएको नियुक्ति र असन्तुष्टि
पूर्व मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा ६३ जना शहीद परिवार र १०७ घाइतेमध्ये ५२ जनालाई नियुक्ति दिइएको थियो। तीमध्ये २७ जना करारमा तथा अन्य डोर हाजिरीमा नियुक्त गरिएका थिए।
तर शहीद परिवारहरूले सिर्फ कार्यालय सहयोगीको रूपमा हैन, योग्यताअनुसार तहगत पदमा नियुक्ति गर्नुपर्ने माग राखेका छन्। पटेलले आरोप लगाएअनुसार वर्तमान सरकारले मधेश आन्दोलनमा सहभागीहरूलाई वेवास्ता गर्दै आफ्ना कार्यकर्तालाई रोजगारी दिएको छ।
> “डोर हाजिरीमा राखिएका कर्मचारीहरूलाई डेढ वर्षदेखि तलबसमेत दिएको छैन। यो सरकार मधेश आन्दोलनको भावना विपरीत काम गरिरहेको छ,” — पटेल
धर्ना जारी राख्ने चेतावनी
धर्नामा मधेश प्रदेशका आठै जिल्लाबाट सहभागीहरू आएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।




