सर्लाही, जेष्ठ १७ गते ।
अपाङ्गता भएका व्यक्तिहरुले बाल विवाह, जबरजस्ती विवाह तथा कम उमेरमा हुने विवाहको अन्त्यका लागि जनचेतनामूलक सन्देश सहित सर्लाहीको विभिन्न स्थान हुँदै चारपाङ्ग्रे स्कुटी र्याली सम्पन्न गरेका छन् ।
सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा, ग्रामिण नारी उत्थान संघ हरिपुर–२ को सहकार्य, ईश्वरपुर नगरपालिकाको समन्वय र अपाङ्ग अनाथ वृद्ध उत्थान समाज नेपालको आयोजनामा उक्त र्याली गरिएको हो ।

CEFM परियोजनाअन्तर्गत आयोजित र्याली श्रीनगरबाट सुरु भई महारानीबजार, हरकठवा, सोकनाहा, मियाखोर, पोखरिया, चौलिखाबजार, भक्तिपुर, तीनघरिया, कलावती बजार, खोरियाटोल, करमुहान, खैरा बजार, बेला, रामपुर, बयलबास बजार, नरेशखोर, सागरनाथ हुँदै डुपुसको कार्यालयसम्म सम्पन्न भएको थियो ।
र्यालीमा सहभागीहरुले “हामी सबैको एउटै नारा, बाल विवाह मुक्त ईश्वरपुर” र “सभ्य यो समाजमा हामी सबैको हो जिम्मेवारी, छोरा होस् या छोरी, विवाह २० वर्षपारि” भन्ने मुल नाराहरु सहितको प्लेकार्ड तथा ब्यानर सहित सवारी यात्रा गरेका थिए ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको सक्रियता, सामाजिक जिम्मेवारीप्रतिको भावना र उनीहरुको क्षमता प्रष्ट पारेको सहभागीहरुको भनाइ थियो । आयोजक संस्थाका प्रतिनिधिहरुले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
र्यालीपछि समापन कार्यक्रम समेत गरिएको थियो, जहाँ स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरु र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीता र सामाजिक अभियानमा उनीहरुको अग्रणी भुमिकाको पहिचान गराउने अपेक्षा लिइएको छ ।


