रोशन कुमार महतो
बर्दिवास, असार १७ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका अन्तर्गत वडा नं. १२ र १३ मा अवस्थित ऐतिहासिक गाउँ बिजलपुरामा प्रत्येक असार महिनामा अखारी पूजा आयोजना गरिन्छ । धार्मिक आस्था, परम्परा र सामाजिक एकताको उत्कृष्ट प्रतीकका रूपमा स्थापित यस पूजाको तयारी गाउँलेहरूले पन्ध्र दिनअघिदेखि सामूहिक रूपमा सुरु गर्छन् ।
अखारी पूजाको मूल केन्द्र महरानी थान हो—जहाँ यो परम्परा पुस्तौँदेखिको निरन्तरतामा रहँदै आएको छ। श्रद्धा, विश्वास र समर्पणले गहिरिएको यो थान गाउँको सामाजिक सम्बन्ध र ऐक्यबद्धताको आधार बनेको छ ।
यस वर्षको अखारी पूजा सोमबार धूमधामका साथ सम्पन्न भयो। विशेष दिनको अवसरमा गाउँलेहरू ब्रह्मबाबा सहित विभिन्न देवीदेवताहरूको पूजा गर्दछन्। परम्परागत विधिअनुसार मनाइने यो पूजामा गाउँको समृद्धि, शान्ति र सद्भावको कामना गरिन्छ ।
स्थानीय छेदी चौधरी भन्छन्, “हामी १०–१५ दिन मेहनत गरेर गाउँभरि चन्दा उठाउँछौं। त्यसैबाट तीन क्विन्टल चिनी किनेर लड्डु बनाउँछौं, १५० लिटर दूधको खीर पकाउँछौं र सबै भक्तजनमा प्रसादी वितरण गर्छौं ।”
स्थानीय बासिन्दा हजारी महतोका अनुसार, “यो थान जंगलपालादेखि नै पूजिँदै आएको हो। यहाँ मानिसहरू भाकल गर्छन्, र पूरा भएपछि देवीप्रति आस्था प्रकट गर्न आउँछन् । हामीले देवीको चमत्कारको अनुभव प्रत्यक्ष गरेका छौं ।”
तर, यति पवित्र स्थल महरानी थान अहिले जीर्ण अवस्थामा छ। मन्दिरका मुख्य पुजारी सिंघेश्वर महतो भन्छन्, “पहिले यहाँ जंगल मात्र थियो, हामी गाउँलेहरूले सानो मन्दिर बनाएका थियौं। अहिले मन्दिरको पर्खाल चिरा परेको छ, संरचना कमजोर बन्दैछ ।”
स्थानीय राजकुमार पासवानले मन्दिर सानो भएकाले पछाडि सारेर विस्तार गर्ने योजना बनाइएको जानकारी दिएका छन् । केही दिनअघि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले थानको निरीक्षण गरी मन्दिरको विकासमा ध्यान दिने प्रतिबद्धता जनाएका थिए ।
अर्का स्थानीय बासिन्दा बुधेश्वर महतो भन्छन्, “हामी यहाँ दशैंभरि धूप, अगरबत्ती बाल्छौं । शुभकार्य सकिएपछि गाउँले यहीँ पूजा गर्न आउँछन् । पूजाका काजकर्ताहरू १० दिनसम्म साधनामा बस्छन् । सबै मिलेर पूजा गर्छौं, यही हाम्रो शक्ति हो ।”
स्थानीय जनताको साझा गुनासो छ—“हामीले धेरैपटक स्थानीय सरकारसँग सहयोग माग गर्यौं, तर सुनुवाइ भएको छैन । यदि सरकारले साथ दियो भने, मन्दिरको पुनर्निर्माण सजिलै सम्भव हुन्छ ।”
बिजलपुरामा जारी यो परम्परा आज पनि सामाजिक सद्भाव, परम्परा र धार्मिक आस्थाको जिउँदो प्रतीक बनेर जीवित छ ।





























