पवन प्रसाद साह
बिरगंज, साउन २३ गते ।
पर्साकाे बिरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२औं वार्षिकोत्सव शुक्रबार जनजाति कल्याण आश्रम नेपाल “आमाको माया छात्रावास”मा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा आश्रममा आश्रित गरिब, दलित र असहाय बालबालिकाहरूका लागि चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न र शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।

पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले भोजपुरी टाइम्सको ११ वर्षको निरन्तर प्रकाशन भाषिक पत्रकारितामा प्रेरणादायी भएको बताए। उनका अनुसार यो यात्रा केवल पत्रिका प्रकाशन मात्र नभई मातृभाषाको अस्तित्व र पहिचानको संघर्षको महत्वपूर्ण अंश हो। उनले बालबालिकालाई सहयोग गर्दै वार्षिकोत्सव मनाउनु मानवीय संवेदनशीलताको अद्भुत उदाहरण भएको उल्लेख गरे।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रिकाले भाषिक विविधता र सांस्कृतिक संरक्षणमा दिएको योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।
त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य राघव साहले प्रारम्भदेखि अहिलेसम्मको संघर्ष र उपलब्धिको स्मरण गर्दै भोजपुरी टाइम्सको मानवीय रचनात्मक कार्यको सराहना गरे। प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पीठाकोटे मगरले मातृभाषा पत्रकारितालाई समय र प्रविधिसँगै अघि बढाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।
कुमुदिनी एकेडेमीका सञ्चालक एवं शिक्षाप्रेमी श्रीरामजी गिरीले भोजपुरी टाइम्सलाई मधेश मात्र नभई देशकै शानका रूपमा चित्रित गर्दै यसको उज्ज्वल भविष्यको कामना गरे।
कार्यक्रमको सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य श्याम सर्राफले गरे भने स्वागत भाषण पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले प्रस्तुत गरेका थिए।





