बारा, साउन २६ गते ।
बाराको प्रसौनी–३ स्थित नेशनल वाटर कम्पनीले उत्पादन गरेको मिनरल वाटरमा खरपात र फोहर भेटिएपछि उपभोक्तामा आक्रोश फैलिएको छ। वीरगञ्ज–१३ राधेमाईको एक किराना पसलमा बिक्री भएको बोतलमा फोहर देखिएपछि स्वच्छ पेयजलको गुणस्तर र उपभोक्ता स्वास्थ्यप्रति गम्भीर प्रश्न उठेको हो।
स्वास्थ्य विशेषज्ञका अनुसार दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइडजस्ता रोग फैलिन सक्ने जोखिम हुन्छ। यसले विशेषगरी बालबालिका, वृद्ध तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई गम्भीर असर पुर्याउन सक्छ।

घटनाबारे कम्पनी सञ्चालक विजय यादवसँग बुझ्दा उनले “यो खासै ठूलो समस्या होइन, जे मन लाग्छ त्यही गर्नुहोस्” भन्ने प्रतिक्रिया दिएका छन्। उनको गैरजिम्मेवार भनाइले उपभोक्ता र स्थानीयवासीको आक्रोश झन् बढाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य कार्यालय र उपभोक्ता हित संरक्षण शाखा जस्ता नियामक निकाय यसबारे मौन देखिएका छन्। नियमित अनुगमन र गुणस्तर परीक्षणको अभावले यस्ता गुणस्तरहीन उत्पादन खुलेआम बिक्री भइरहेका उपभोक्ताको आरोप छ।
उपभोक्ताले दोषी कम्पनीमाथि तत्काल कडा कारबाही, उत्पादन रोक्ने र सार्वजनिक माफी माग्ने माग गरेका छन्। यस घटनाले नेपालको बोतल पानी उद्योग र नियमन प्रणालीको कमजोरी फेरि उजागर गरेको छ।

