जनकपुरधाम, भदौ ७ गते ।
जनकपुरधाम उपमहानगरपालिका–८ मा एक अज्ञात पुरुषको शव फेला परेको छ। शुक्रबार साँझ करिब सवा ६ बजे वडा कार्यालय पछाडि रहेको एस राज कबाड पसलमा करिब ४० वर्षको पुरुष अचेत अवस्थामा भेटिएका थिए ।
स्थानीयवासीको जानकारीपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। आवश्यक प्रक्रिया पूरा गरी शव प्रादेशिक अस्पताल जनकपुरको शवगृहमा राखिएको छ ।
प्रहरीले मृतकको तस्बिर र विवरण प्रचार–प्रसार गरेको छ र सनाखतमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। आफन्त वा चिनेका व्यक्तिहरूले नजिकैको प्रहरी कार्यालय वा प्रादेशिक अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

