सर्लाही, भदौ ७ गते ।
बाल विवाह अन्त्यका लागि सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज बिहान विशेष र्याली निकालिएको छ ।
ईश्वरपुर नगरपालिका–१३, १४, १५, १, २, ३, ४, ५, ६ र ७ नं वडामा आयोजित र्यालीमा अपाङ्गता भएका व्यक्तिहरूले चार पाङ्ग्रे स्कुटी सहित सहभागिता जनाए । र्यालीमा ३५ जनाको उपस्थिति थियो।
यस कार्यक्रमलाई सेभ द चिल्ड्रेन को आर्थिक सहयोग, ग्रामीण नारी उत्थान संघ, हरिपुर–२ को सहकार्य, ईश्वरपुर नगरपालिकाको समन्वय तथा अपाङ्ग अनाथ वृद्ध उत्थान समाज नेपाल (डुपुस नेपाल) को आयोजनामा, सीईएफएम परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राम कैलाश महतोले गर्नुभयो भने ईश्वरपुर–१४ का वडा अध्यक्ष सित कुमार महतो विशेष अतिथि रहनुभएको थियो।
नगर प्रमुख मनोज कुमार आचार्यका अनुसार, “बाल विवाह दक्षिण एसियाको गम्भीर समस्या हो। बंगलादेश र भारतपछि नेपाल पनि कम उमेरमा हुने विवाहको दरमा अगाडि रहेको छ। विशेषगरी मधेस प्रदेशमा यो दर अत्यन्तै उच्च छ।”
ग्रामीण नारी उत्थान संघका सचिव सूर्य प्रसाद चालीसले मधेस प्रदेशमा मात्र ४२ प्रतिशत मानिसको विवाह २० वर्षभन्दा कम उमेरमा हुने तथ्याङ्क प्रस्तुत गर्दै यसलाई बिकराल समस्या भएको बताए। उनका अनुसार, बाल विवाहका कारण किशोरीहरू शारीरिक समस्या, मानसिक रोग, पारिवारिक कलह र पढाइबाट वञ्चित हुने समस्यामा फसिरहेका छन्।
र्यालीमा सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित कम उमेरमा विवाह गर्दा हुने समस्या, पारिवारिक तनाव, शिक्षा वञ्चनाजस्ता मुद्दाहरूलाई जनचेतना जगाउने ढङ्गले प्रस्तुत गरेका थिए।
नेपालमा कानुनअनुसार विवाहको उमेर २० वर्ष तोकिएको भए पनि समुदायमा अझै पनि कम उमेरमा विवाह हुने क्रम नरोकिएको भन्दै बाल विवाह नियन्त्रणका लागि यस्ता कार्यक्रम आवश्यक भएको आयोजकहरूले बताएका छन् ।






