सिरहा, भदौ १७ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सिरहाको मिर्चैया स्थित होटल खुश्बुकाे सभाहलमा सम्पन्न अधिवेशनमा सर्वसम्मत निर्णय मार्फत २१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
अधिवेशनबाट अध्यक्षमा अभरेन्द्र यादव पुनः चयन भएका छन् भने उपाध्यक्षमा धनुषाका रामहृदय यादव र माला राय निर्वाचित भएका छन् । मुख्य सचिवमा सप्तरीका प्रवेश कुमार मिश्र, सचिवमा महोत्तरीका नागेन्द्र यादव र पर्साकी प्रभा कुमारी यादव चयन भएका छन् । त्यस्तै, समावेशी सचिवमा रौतहटका राम पुकार राउत र सर्लाहीका सरोज कुमार यादव निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् भने सदस्य तर्फ रौतहटका उमेश यादव, बाराका राजेश प्रसाद यादव, सिरहाका शितल साह र ओमप्रकाश यादव, धनुषाका विनय कुमार अधिकारी र ब्रह्मानन्द ठाकुर तथा रौतहटकै मेवालाल यादव निर्वाचित भएका छन् । महिला सदस्यमा रश्मी पटेल (रौतहट), आदिवासी जनजातितर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) तथा मुस्लिम समुदायतर्फ साविर आलम निर्वाचित भएका छन् ।
मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको अधिवेशनमा अन्य प्रदेशका जिल्ला तथा केन्द्रीय पार्षदहरूको सहमति सहित अभरेन्द्र यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको निर्वाचन समिति सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिनुभयो ।

