काठमाडौं, भदौ २४ गते ।
सिंहदरबारभित्र छिरेका प्रदर्शनकारीले १ सय १५ वर्षभन्दा पुरानो सिंहदरबारमा आगो लगाएका छन् । २०७२ को भूकम्पपछि पुन:निर्माण गरेर प्रयोगमा ल्याइएको सिंहदरबार जलिरहँदा त्यहाँ सरकारको कुनै उपस्थिति भने देखिन्न ।

१९६० सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले निजी निवासका रूपमा सिंहदरबारको निर्माण गरेका थिए ।
सिंहदरबारभित्रका सबैजसो मन्त्रालयमा आगजनी भएको छ । स्वास्थ्य, शिक्षा, गृह र संचार मन्त्रालयमा आगो लागेको छ । भवनभित्रै छिरेर प्रदर्शनकारीले आगो लगाएको देखिन्छ । त्यहाँभित्र के कति क्षति पुगेको छ भन्ने विस्तृत विवरण संकलन भइसकेको छैन ।
प्रदर्शनकारीले सिंहदरबारभित्रका गाडी र मोटरसाइकलमा पनि आगो लगाएका छन् ।


