चन्दन कुमार महतो
राैतहट, भदौ ३१ गते ।
रौतहटको गौर नगरपालिकाले सोमबारदेखि नियमित सेवा पुनः सञ्चालन गरेको छ। नगरप्रमुख शम्भु साहका अनुसार जेनजी आन्दोलनका कारण भदौ २४ देखि अवरुद्ध सेवा भदौ ३१ गतेदेखि पुनः सुचारु गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि नगरपालिकाले आवश्यक कामकाज सुरु गरेको जनाइएको छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले नागरिकलाई सहज सेवा दिन कार्यालय जुटिरहेको बताए ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गौर नगरपालिका कार्यालयमा आंशिक तोडफोडसहित आगजनी गरेका थिए। फर्निचर, एलइडी टिभी, स्मार्ट टिभी, साउन्ड सिस्टम, सिसी टिभी, पिकअप भ्यान, वारण यन्त्रलगायत सामग्री जलाइएको थियो । कार्यालयका झ्यालका सिसा फुटाउनुका साथै प्रहरी बिट, घण्टाघरमा निर्माण गरिएको बीपी कोइरालाको सालिकका बत्तीहरू समेत तोडफोड गरिएको थियो ।
नगरप्रमुख साहका अनुसार आन्दोलनकारीले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणका लागि राखिएका अधिकांश कागजात समेत जलाएका छन् । महालेखा परीक्षकको टोलीले लेखापरीक्षण सुरु गरे पनि पूरा गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
उक्त घटनाबाट गौर नगरपालिकामा करिब ६७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

