काठमाडौं, असोज ५ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई तीन मन्त्रालयको जिम्मेवारीसहित मन्त्री सिफारिस गरेकी छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, र कानुन मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ। यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हालिरहेका थिए।
सिन्हा १७ साउन २०७३ मा सर्वोच्च अदालतका न्यायाधीश नियुक्त भएका थिए। ६५ वर्षे उमेर हद पुगेपछि उनी १४ कात्तिक २०८० मा अवकाश भएका थिए। न्यायाधीश बन्नु अघि उनी कर तथा कर्पोरेट क्षेत्रमा विज्ञ वरिष्ठ अधिवक्ता थिए।
सर्वोच्चमा सात वर्षे कार्यकालमा उनले संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दामा महत्वपूर्ण योगदान दिएका थिए। लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभा विघटन, कर फर्स्यौट आयोग र ललितानिवास जग्गा प्रकरणजस्ता चर्चित मुद्दामा उनको निर्णय निर्णायक बनेको थियो ।

