काठमाडौं, असाेज १५ गते ।
यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीविरुद्ध तत्काल कडा कारबाही हुने चेतावनी दिएका छन्।
चाडपर्वको समयमा यात्रुहरूबाट अनावश्यक रूपमा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने र सेवाग्राहीलाई असजिलो बनाउने गुनासा बढेपछि मन्त्री घिसिङले यस्तो गतिविधि तत्काल बन्द गर्न व्यवसायीलाई निर्देशन दिएका हुन्।
मन्त्रीको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यात्रुलाई दुःख दिने, टिकटमा कालोबजारी गर्ने वा चाडपर्वलाई कमाउने साधन बनाउने प्रयास कुनै हालतमा सह्य हुनेछैन। तोकिएको भन्दा बढी भाडा असुल्ने भेटिए तत्काल सम्बन्धित व्यवसायीमाथि कानूनी कारबाही गरिनेछ।”
मन्त्री घिसिङले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै यस्ता गतिविधि देख्नेबित्तिकै स्थानीय सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्। उनले अहिलेको विषम परिस्थिति सबैका लागि संवेदनशील भएको उल्लेख गर्दै, यातायात व्यवसायीले यात्रुलाई सहज, सुरक्षित र मर्यादित सेवा दिनुपर्नेमा जोड दिएका छन्।

